समाज

अशक्त महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

खोटाङ– खोटाङमा शारीरिकरुपमा अशक्त महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। राम्ररी आँखा नदेख्ने र हिँडडुल गर्न समेत नसक्ने ५० वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा रतन्छा–३ का ५३ वर्षीय टिकाराम दमाईलाई प्रहरीले पक्राउ गरेको हो। दमाईमाथि फागुन ९ गते अशक्त महिलालाई बलात्कार गरेको अभियोग छ।

घरमा बसिरहेको अवस्थामा महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ परेका दमाई बिरुद्ध जबरजस्ती करणी महल अन्तर्गत मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाईने जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका सई मनोज यादवले बताए। घट्नालाई गाउँमै मिलाउने चलखेलका बिचमा घट्ना प्रहरीसम्म आइपुगेको हो। महिलाको जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परीक्षण गरिएको छ।

यस्तै बिद्यालय जाँदै गरेकी युवतीलाई गत फागुन ४ गते करणी प्रयास गर्ने बाकाचोल–७ का ३० वर्षीय मीनबहादुर पुरी बिरुद्ध पनि म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

प्रकाशित: १३ फाल्गुन २०७३ ०८:१५ शुक्रबार

अशक्त महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ