समाज

पत्रकारको निःशुल्क बिमा गर्दै मधेश प्रदेश सरकार

मधेश प्रदेश सरकारले आम संचार प्राधिकरणमार्फत मधेश प्रदेशका सम्पूर्ण पत्रकारको स्वास्थ्य तथा जीवन बिमा गर्न लागेको आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताएका छन्।

रौतहटको सदरमुकाम गौरमा आयोजित रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८० प्रदान गर्दै अध्यक्ष यादवले दिनरात पत्रकारिता पेसामा लागेका पत्रकारहरूलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा र सात लाख रुपैयाँसम्मको जीवन बिमा गर्न लागेको बताए।

कोरोना कालमा कोरोनाकै कारण मृत्यु भएकी संचार उद्यमी रामा यादवको स्मृतिमा उनका श्रीमान् जयप्रकाश यादवले रामादेवी स्मृति पुरस्कार स्थापना गरेका छन्। हरेक वर्ष श्रीमती रामा यादव स्मृति प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा कलम चलाउने एक जना महिला पत्रकारलाई प्रदान गरिरहेको पुरस्कारको राशि २६ हजार पाँच रुपैयाँ रहेको छ।

यस वर्ष प्राइम टाइम टेलिभिजन काठमाडौँमा कार्यरत सिर्जना कार्की र सिटि वान टेलिभिजनमा कार्यरत पोखराकी अनिशा श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पत्रकारितालाई मर्यादित बनाउनुपर्ने कुरामा जोड दिँदै कोरोनाले धेरै राम्रा मानिसलाई पनि मृत्युको मुखमा पुर्‍याएको स्मरण गरे। पत्रकारितामार्फत स्वास्थ्यका साथै अन्य सामाजिक क्षेत्रमा प्रभावकारी जनचेतना विस्तारमा सहयोग पुर्‍याउन प्रजिअ मिश्रले आग्रह गरेका छन्।

जिल्लाका सुरक्षा निकायका प्रमुखहरुका साथै लब्ध प्रतिष्ठित पत्रकारहरुको उपस्थितिमा भएको पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता पुरस्कार संस्थापक जयप्रकाश यादवले गरेका थिए।

प्रकाशित: २८ वैशाख २०८० १४:१९ बिहीबार