समाज

घुर्मी–कुमालटार जोड्ने सडक निर्माण सुरु

उदयपुरको घुर्मीदेखि बिकट पहाडी ताप्ली गाउँपालिका जोड्ने कच्ची सडक निर्माण कार्य सुरु भएको छ। कटारी नगरपालिका १० घुर्मीदेखि ताप्ली गाउँपालिका १ ओख्लेको कुमालटारसम्म जोड्ने सडकको नयाँ ट्र्याक घुर्मी–कुमालटारबीचको बेँसीगाउँदेखि निर्माण कार्य सुरु भएको हो।

प्रदेश १ सरकार, पूर्वाधार विकास मन्त्रालय मातहत पूर्वाधार विकास कार्यालय उदपुरले चालु आर्थिक वर्ष २ करोड बजेटबाट उक्त सडक निर्माणको काम थालेको हो।

मंगलबारदेखि सुरु सडकको काम घुर्मीदेखि कुमालटार हुँदै कुनाईघाटसम्म सुन नदीको उदयपुरतर्फ किनारैकिनार ८ किलोमिटर निर्माण हुने पूर्वाधार कार्यालयका प्रमुख (डिई) शम्भु साहले बताए। उनका अनुसार घुर्मी–कुटाईघाट खण्डको २५ किलोमिटर नयाँ कच्ची सडक खन्नुपर्ने इस्टीमेट रहेकोमा चालु वर्ष ८ किलोमिटर मात्र निर्माण गर्ने गरी २ करोड विनियोजित रकम ठेक्का लगाएर काम थालिएको हो।

जस अनुसार चालु वर्ष मूल्य अभिवृद्धि कर (भ्याट) सहित १ करोड ७२ लाखमा ठेक्का लागेको छ। आउँदो असार मसान्तभित्र सम्पन्न गरिसक्ने गरी सडक निर्माणको काम डिसी-दोभान-डिआर वेबीले सम्झौता गरेको हो। घुर्मी–कुमालटार खण्डको बीचमा पर्ने बेँसीगाउँदेखि कुमालटारसम्मको ६ किलोमिटर कच्ची सडक भने यसअघि नै निर्माण भईसकेको छ। अव बन्ने ८ किलोमिटर नयाँ संरचना निर्माण भएपछि घुर्मीदेखि ताप्लीसम्म आउजाउ गर्न धेरै छिटो र सहज हुने माओवादी ताप्लीका अध्यक्ष गुरुप्रसाद पोखरेल (आवेग) ले बताए। उनका अनुसार यो सडक जिल्लाको पश्चिम पहाडी भेगका बिकट र दुर्गम गाउँपालिकावासीका लागि अत्यन्त महत्त्वपूर्ण छ।

विभिन्न प्राविधिक समस्याका कारण सम्झौता गर्न ढिला भए पनि तोकिएकै समयभित्र सडक निर्माण सक्ने गरी काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ। ४ महिना मात्र अवधि भए पनि सबै यन्त्र उपकरण र कामदार जनशक्ति तैनाथ रहेकाले असार १५ भित्रै सडक निर्माण सक्ने गरी काम भइरहेको जेवीका प्रतिनिधि हेम दाहालले बताए।

यो सडक निर्माण भएपछि उदयपुरको पश्चिम तथा उत्तरी पहाडी भेगका बासिन्दा लाभान्वित हुने ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज बिकले बताए। ताप्लीका कुमालटारदेखि बेँसीगाउँसम्म कच्ची सडक पहिल्यै निर्माण भईसकेकाले बेँसीगाउँदेखि घुर्मीसम्म जोड्ने यो सडक खुलेपछि ताप्लीका ५ वटै वडावासी र छिमेकी लिमचुङबुङ गाउँपालिकावासीलाई पनि घुर्मीको बाटो गरी राजधानी जान आउन धेरै सहज हुने अध्यक्ष बिकले बताए।

त्यसैगरी यो सडकले सदरमुकामदेखि कटारी, घुर्मी, कुमालटार हुँदै ताप्ली मुकाम रुपाटार पुग्न पनि आधा बाटो छोटिने उनले बताए। सुन नदीपारि खोटाङ पर्ने भएकाले ठाउँ ठाउँमा झोलुङ्गे पुल बनिसकेकाले खोटाङको प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन गर्न उदयपुर भएर भक्तजन र पर्यटकलाई आउजाउ गर्न पनि पनि यो सडकले उत्तिकै सहज बनाउनेछ। त्यसै गरी राजधानी काठमाडौँदेखि घुर्मी भएर आउने पर्यटक भक्तजनलाई पनि हलेसी पुग्न सहज हुने स्थानीय बताउँछन्।

प्रकाशित: २८ वैशाख २०८० १३:५० बिहीबार