समाज

डोल्पाको दुनैमा पहिलोपटक बस

हिमाली जिल्ला डोल्पामा पहिलोपटक यात्रुवाहक बस पुगेको छ। बाँकेको नेपालगन्जबाट सोमबार हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै पुगेको हो। डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि पहिलोपटक भेरी राप्ती यातायात प्रालि र नमस्ते सगरमाथा यातायात प्रालिको एक÷एकवटा बस यात्रु बोकेर मंगलबार दुनै आएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

दुनैमा जाजरकोटबाट जिप मात्रै जान्थे। डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत डोल्पाको भेरी नदीमा बेलिब्रिज बनेसँगै दुनैमा बस पुगेको हो। अब राष्ट्रिय सडक सञ्जालमा जोडिन हुम्ला मात्र बाँकी छ। राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर नेपाली सेनाले निर्माण गरिरहेको छ। करिडोरको हुम्ला खण्डको ६ किलोमिटर सडक निर्माण गर्न बाँकी छ।

६ किलोमिटर सडक निर्माण र झन्डै एक दर्जन खोलामा पुल निर्माण भएपछि हुम्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ। नेपालगन्जबाट सुर्खेत, छिन्चु, जाजरकोट, त्रिवेणी हुँदै डोल्पाको दुनै गाडी पुगेको प्रमुख जिल्ला अधिकारी भुवनेश्वर पोखरेलले जानकारी दिए। 

प्रकाशित: २८ वैशाख २०८० ००:५१ बिहीबार

डोल्पाको दुनैमा पहिलोपटक बस