समाज

महाशिवरात्रिमा विदेशीले सांस्कृतिक कार्यक्रम देखाउने

काठमाडौं-महाशिवरात्रिको अवसरमा पहिलोपल्ट विदेशीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। स्कोनका विदेशी हिन्दु धर्मावलम्बीले शुक्रबार दिउँसो देखि रामायण, कृष्णलीला तथा शिव कथामा आधारित नाटक प्रस्तुत गर्न लागेका हुन्  । महाशिवरात्रि पर्व शुक्रबार परेको छ ।

पशुपति क्षेत्र विकास कोषले यसका लागि स्वीकृति दिइसकेको कोषका निर्देशक रमेश उप्रेतीले बताए । उनका अनुसार स्कोनमा रुसी, अमेरिकी, बेलायती, इटलीलगायत विभिन्न देशमा विदेशीले हिन्दु धर्मलाई आत्मसात् गरेकाले स्वीकृति दिएको हो ।

‘फागुन १३ गते अर्थात् शुक्रबार दिउँसो २ बजेदेखि हिन्दु धर्म अँगालेका विदेशीले हिन्दु धर्मसंस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी भक्तजनलाई मनोरञ्जन दिलाउने छन्,’ उप्रेतीले नागरिकसँग भने, ‘कार्यक्रम गर्न कोषले सुमार्गी भवन उपलब्ध गराउनेछ ।’

यस वर्ष महाशिवरात्रि मेला भर्न स्वदेशी र विदेशी गरी कुल ४ हजार साधुसन्त आउने कोषले जनाएको छ। साधुसन्त व्यवस्थापनको संयोजकसमेत रहेका निर्देशक उप्रेतीले बिहीबारदेखि साधुसन्त पशुपति मन्दिर प्रवेश गर्ने बताए । उनका अनुसार साधुसन्तलाई विभिन्न नौ अखडामा बसोबासको व्यवस्था गरिएको छ । ‘भारत र नेपालका गरी २५ सय साधुसन्त आइसकेका छन्’, उप्रेतीले मंगलबार भने।

सःशुल्क दर्शनको व्यवस्था हटाइयो

पशुपति क्षेत्र सञ्चालक समितिले शुल्क तिरेर पशुपतिनाथको दर्शन गर्ने व्यवस्था हटाएको छ । कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले सःशुल्क दर्शनका कारण अन्य दर्शनार्थीलाई विभेद भएकाले यस वर्षदेखि हटाइएको जनाए ।

यस वर्ष महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा १३ लाख दर्शनार्थी मेला भर्न आउने अनुमान कोषले गरेको छ। 

‘मेला अवधिभर पशुपति क्षेत्रलाई सिसिटिभी क्यामरा निगरानीमा राखिनेछ,’ कोषाध्यक्ष सुवेदीले भने, ‘१३ लाख भक्तजनको व्यवस्थापनमा कोष लागिपरेको छ ।’ गत वर्ष पनि १२ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका थिए ।

 

 

प्रकाशित: ११ फाल्गुन २०७३ ०२:२० बुधबार

महाशिवरात्रिमा विदेशीले सांस्कृतिक कार्यक्रम देखाउने