समाज

हत्या आरोपमा ४ जनालाई थुनामा राख्न आदेश

गौशाला(महोत्तरी)– स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्या आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

न्यायधीश केशवप्रसाद घिमिरेको इजलासले मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर– ६ बस्नेफिरोज कवारी, बगडा– ७ बस्ने गङ्गाराम दास र महोत्तरी गाविस– ७ बस्ने कुवेर राउतसहित चारजनालाई पुर्पक्षका लागि आज जलेश्वर कारागारमा राख्ने आदेश दिएको हो ।

सोही हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका धमौरा– १ बस्ने तुफान नट अन्सारीलाई ३० हजार धरौटीमा तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए।

युवक मिश्रको हत्याको प्रमुख कारण निजको पत्नीको अरुसँग यौन सम्बन्ध राखेको खुलेको र सम्पति हडप्ने उद्देश्य रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रका नाममा पाँच बिगाहा जग्गा छ ।

युवक मिश्रलाई पुस २९ गते शुक्रबार राति ८ बजे आरोपीहरुले हतियार प्रहार गरी हत्या गरेका थिए । रासस

 

प्रकाशित: १० फाल्गुन २०७३ ०७:३० मंगलबार

हत्या आरोपमा जनालाई थुनामा राख्न आदेश