समाज

जुम्लामा असिनाले स्याउको फूल नष्ट

जुम्लामा असिनाले स्याउ र ओखरको फूल नष्ट भएका छन्। एक हप्ता अगाडि परेको असिना पानीले फूलेका स्याउको फूल नष्ट गरेको स्थानीय किसानले जनाएका छन्।

सिंजा गाउँपालिकाको-२ लगायत उच्च क्षेत्रमा असिना पानी आएपछि किसान चिन्तित भएका छन्। सिंजा गाउँपालिका २ का वडाध्यक्ष तिर्थवडका अनुसार त्यस क्षेत्रमा आएको असिना पानीले ८ हजार बढि स्याउका विरुवाको फूल नष्ट गरेकाे छ। स्याउ फुल्ने समयमा असिना आएपछि ठूलो क्षेति भएको किसान पुर्णचन्द्र आचार्यले बताए।

किसानहरुका अनुसार त्यस क्षेत्रका पारीदेव, ओखलदुडिचौर, लामासिम लगायतका क्षेत्रमा करिब ८ हजार स्याउ विरुवाको असिनाले क्षति पुर्‍याएको छ। यता तिला गाउँपालिका-९ मा पनि लगातार आएको असिना पानीले स्याउको फूल पुरै झारिदिएको छ।

स्थानीय हर्कबहादुर रावतले एक हप्ता अगाडि लगातार ४ घण्टा लामो समय असिना आएर स्याउ, मकै लगायतका वालीमा असर गरेको बताए। उनका अनुसार त्यस क्षेत्रका रासा, मालापानी, खोप्री, सुडि, ढिपु क्षेत्रमा असिनाले स्याउको फुलमा क्षेति पुर्‍याएको छ। जुम्लाको उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा असिनापानीले हैरान बनाएको हो।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले क्षतिको विवरण संकलन नगरिसकेको र विवरण वुझ्न जरुरी रहेको बताए। 

प्रकाशित: २७ वैशाख २०८० ०७:३३ बुधबार

असिना पानी