समाज

नयाँ बसपार्क अन्तर्राष्ट्रियस्तरको बन्दै

काठमाडौं- राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ। अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्रै होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको हो।

यो बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउद्देश्यीय प्रालिबीच  ०७२ मा नयाँ सम्झौता भएको महानगरका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले बताए।

'बसपार्कको आधुनिकीकरणका लागि नयाँ सम्झौता गरेका हौं,' उनले भने, 'सम्झौताअनुसार प्रालिले अन्तर्राष्ट्रियस्तरको बसपार्क चार वर्षभित्र बनाउनुपर्नेछ।'

प्रालि अध्यक्ष दीपक कुँवरले सबैले नराम्रो दृष्टिकोणले हेर्दै आएको बसपार्कलाई सबै दृष्टिले सुन्दर बनाइने बताए। 'हामीले बसपार्कलाई हेर्ने दृष्टिकोण मात्रै होइन, मुहार नै फेर्ने काम गरिरहेका छौं,' उनले भने।

चार सय सवारी अट्ने पार्किङलाई आठ सय सवारी अट्ने गरी निर्माण गरिने सम्झौता छ। बसपार्कमा साततले व्यापारिक भवनसहित बाल उद्यान, यात्रुका लागि वेटिङरुम, सपिङ मल, बैंकिङ काउन्टर, लकर सेवा आदि रहनेछ। उच्च स्तरका होटेल तथा रेस्टुरेन्टसमेत सञ्चालन गरिने कुँवरले बताए।

'टाढाबाट आउने यात्रुका लागि आरामदायी कक्षको समेत व्यवस्था गरिनेछ। जसमा यात्रुले सहज ढंगले आराम गर्न पाउनेछन्,' उनले भने, 'बसपार्क पूर्णतया सिसी क्यामेराको निगरानीमा हुनेछ।'

आर्किटेक्ट इन्जिनियर कृष्ण ज्ञवालीले बसपार्क क्षेत्रमा पूर्वाधार निर्माण कार्य तीव्र भइरहेको बताए। 'अहिले बसपार्कको स्तरोन्नतिमा ध्यान दिइरहेका छौं,' उनले भने, 'तोकेकै अवधिमा निर्माण सक्नेछौं।'

महानगरपालिका र लोत्सेबीच ०५६ मा पनि  सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार ४५ वर्षका लागि बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मा लोत्सेलाई दिइएको थियो। लोत्सेले ४५ वर्षपछि सम्पूर्ण पूर्वाधारसहितको बसपार्क महानगरलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ। ०७२ साल अघिसम्म प्रालिले वार्षिक ५१ लाख रुपैयाँ तिर्दै आएको थियो। नयाँ सम्झौताअनुसार प्रालिले ९८ लाख राजस्व तिर्नुपर्ने महाशाखाका प्रमुख काफ्लेले बताए।

प्रकाशित: १० फाल्गुन २०७३ ०४:१५ मंगलबार

बसपार्क अन्तर्राष्ट्रियस्तरको बन्दै