समाज

ग्रामीण भेगमा बढ्दै बालविवाह

ललितपुर- दक्षिण ललितपुरको गिम्दीस्थित श्रीनारायण उमाविमा कक्षा  सातमा पढ्ने सरिता घिमिरे (नाम परिवर्तन)ले पाँच महिनाअघि प्रेम विवाह गरिन्।  उमेरले भर्खर १४ टेकेकी उनी सोही स्कुलमा कक्षा १० मा पढ्ने युवकसँग भागेर विवाह गरेकी थिइन्। त्यसको दुई महिनापछि कक्षा आठमा पढ्ने सीता थापा (नाम परिवर्तन) ले पनि यसरी नै भागेर प्रेम–विवाह गरिन्। ललितपुरको विकट क्षेत्रमा पर्ने यो विद्यालयका लागि बालविवाह नौलो होइन।  विद्यालयकी शिक्षिका शारदा तिम्लिसिनाका अनुसार हरेक वर्ष  पाँचदेखि दश विद्यार्थीले सानै उमेरमा विवाह गर्छन्। 'दक्षिण ललितपुरमा बालविवाह मौलाउँदो छ,' उनले भनिन्, 'भर्खरै कक्षा ६–७ मा अध्ययन गर्ने विद्यार्थी पढ्दापढ्दै भागेर बिहे गर्छन्।'

दक्षिण ललितपुरमै बालविवाह ठूलो समस्या भएको र विद्यालयले मात्रै समाधान गर्न नसक्ने उनले बताइन्।

६–७ मा पढ्ने विद्यार्थी एकाएक भागेर प्रेमविवाह गर्न थालेपछि यसलाई रोक्न विद्यालयले जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ।

अभिभावकले राम्रो रेखदेख नगर्दा पनि बालविवाह बढ्ने गरेको गिम्दी गाविससचिव विक्रम कोइरालाले बताए। 'जिल्लाका अरु गाविसको तुलनामा गिम्दीमा सबैभन्दा बढी बालविवाह भएको छ,' उनले भने, 'यो वर्ष मात्रै २० भन्दा बढीले बालविवाह गरेका छन्।'

बालविवाह बढ्न थालेपछि अहिले जनचेतना कार्यक्रम पनि सुरु गरेको उनले बताए।

केन्द्रीय तथ्यांक विभागले विभागले सन् २०११ मा सार्वजनिक गरेको तथ्यांकअनुसार कुल जनसंख्याको ३८ प्रतिशतले बालविवाह गरेको विभाग निर्देशक प्रमोदराज रेग्मीले जनाए। 'पछिल्लो समय सहरमा बालविवाह घढेको छ,' उनले भने, 'तर गाउँमा भने बढेको देखिन्छ।'

उनले विभागले हरेक १० वर्षमा बालविवाहको तथ्यांक सार्वजनिक गर्ने गरेकाले पछिल्लो तथ्यांक सार्वजनिक गर्ने समय नभएको बताए। '२०११ पछिको तथ्यांकलाई हेर्दा पछिल्लो समय कम उमेरमा विवाह गर्नेको संख्या बढेको छ,' उनले भने।

जनचेतना अभाव, गरिबीका कारण बालविवाह बढेको रेग्मी बताउँछन्। 'कानुनले विवाह गर्ने न्यूनतम उमेर केटीका लागि १८ र केटाका लागि २० वर्ष तोकेको छ,' उनले भने, 'तर हाम्रो समाजमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने युवायुवती धेरै छन्।'

प्रकाशित: १० फाल्गुन २०७३ ०४:१५ मंगलबार

ग्रामीण भेगमा बढ्दै बालविवाह