समाज

पानीको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या

डोटी– खानेपानीको बिषयमा बिबादका उहुँदा खुकुरी प्रहार गरी एक जनाको हत्यो भएको छ। डडेल्धुराको कोटेली–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउदको आइतबार बिहान खुकुरी प्रहारबाट हत्या भएको हो।  

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार स्थानीय भीमबहादुर भूलले साउदलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्। खानेपानीको विषयमा बिहान विवाद भएपछि दुबैजनाको बीचमा कुटाकुट भएको थियो। सोही क्रममा भूलले  साउदमाथि खुकुरी प्रहार गरेका थिए।  खुकुरी प्रहारबाट गम्भीर घाइते साउदलाई परिवारका सदस्यहरुले उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरातर्फ ल्याएका थिए।

उनलाई अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ। उनको छातीमा गम्भीर चोट लागेको थियो। यसबाहेक खुट्टामा पनि सामान्य चोट देखिएको डडेल्धुरा प्रहरी प्रमूख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जनाए।

घटनापछि अभियुक्त भूललाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ। भूल र साउँद छिमेकी हुन्। मृतक साउदको घरमाथि र भूलको घर तल छ। ‘दुई परिवारको खानेपानी प्रयोग गर्ने धारा एउटै रहेछ,’ प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘तलको धारा बन्द भएपछि मात्रै माथिल्लो धारामा पानी जाने रहेछ। तर, तलको धारा बन्द नगरेपछि विवाद उत्पन्न हुदा घटना भएछ।’

 

प्रकाशित: ८ फाल्गुन २०७३ ०९:५२ आइतबार

पानीको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या