समाज

अशोक स्तम्भ नजिकै फेला परे प्राचीन भग्नावशेष

कपिलवस्तुको जितपुर–तौलिहवा सडक विस्तारको क्रममा निग्लीहवा अशोक स्तम्भ किनारमै फेला परेको प्राचिन भग्नावशेष। तस्बिर: किरणमान बज्राचार्य

कपिलवस्तु- तौलिहवा– जितपुर डबल लेन सडक बनाउने क्रममा जिल्लाको निग्लिहवा गाबिस स्थित निगालीकोटमा रहेको प्राचिन अशोक स्तम्भ नजिकै प्राचिन भग्नावशेष फेला परेको छ। शुक्रवार राति सडक निर्माण क्रममा डोजरले माटो खन्दा प्राचिन ईटाका देवाल आकारमा भग्नावशेष फेला परेको हो।

 भेटिएको इट्टाको भग्नावशेष मध्ये एउटा गोलाकारमा छ भने अर्को देवाल जस्तै रहेको छ। शुक्रबार सडक निर्माण कम्पनीका कामदारले मेशिन मार्फत सडक किनार खन्ने क्रममा लुम्बिनी, तिलौराकोट क्षेत्रमा रहेका प्राचिन इट्टाको अवशेषहरु देखिएको थियो। प्राचिन ईट्टाको थुम्को देखिए पछि स्थानीयबासीले उक्त स्थानमा खन्न रोक लगाएका थिए।

स्थानीय बलीराम यादवले तत्कालै त्यस बारेमा लुम्बिनी विकास कोष कर्मचारीलाई जनाएका थिए। डोजरका चालक जुबीर खाले आफुले सडक निर्माणकाक्रममा माटो खन्दा सो इट्टा भेटिएको बताए। सो भग्नावशेषको पुरातत्व बिभागका प्रमुख अधिकृत राम बहादुर कुवर, लुम्बिनी विकास कोषक अधिकृतहरु कृष्ण केसी, हिमाल उत्प्रती, धु्रब नारायण पाण्डेयले अनुगन र निरीक्षण गरेका थिए। पुरातत्व विभाग कपिलवस्तु संग्राहलय तथा लुम्बिनी विकास कोषले पनि हाललाई उक्त स्थानमा कार्य नगर्न निर्देशन दिएको छ। लुम्बिनी विकास कोषका कपिलवस्तु प्रतिनिधी माधव आचार्यले उक्त स्थल बुद्धकालिन संरचना भएको हुन सक्ने बताए। फेला परेको अवशेष र कनकमुनी बुद्धको जन्मस्थल रहेको अरौराकोट तथा निग्लीहवा स्थित अशोक स्तम्भको निकटमा रहेको हुदा स्तुपा वा भवनको भग्नावशेष हुन सक्ने उनले बताए।

कोषले पुरातत्वविदको टोली खटाई थप अन्वेषण गर्ने बताएको छ। उक्त स्थानबाट माटोका भाडाका टुक्रा, प्राचिन इट्टाको थुम्को फेला परेको छ। फेला परेको स्थानको संरक्षण गरेर मात्र सडक निर्माण गर्न दिइने स्थानियबासीले बताएका छन्। ‘ पुरातात्विक स्थल हाम्रो सम्पत्ति हो यसको संरक्षण गरि सडक निर्माण गरिनुपर्छ” स्थानीय बलिराम यादवले भने। शाक्यमुनी बुद्धको प्राचिन दरबार तिलौराकोट र कनकमुनी बुद्धको प्राचिन दरबार अरौराकोट बिचको दुरीमा रहेका अधिकांश स्थानमा बेला बखत बुद्धकालिन अवशेषहरु फेला पर्ने गरेको समाचार बाहिर आएपनि हाल सम्म ति स्थानलाई संरक्षित गरिएको छैन । तिर्लाराकोट, कुदान लागतयका केही स्थानमा मात्र केही बर्ष यता उत्खन गरिएका छन। अझै सय बढी पुरातात्विक स्थालमा अध्ययन, उत्खनन हुन सकेको छैन । प्रयाप्त बजेट तथा दक्ष पुरातत्वविद र जनशक्ति अभावले उत्खनन् कार्य गर्न नसिकएको कपिलवस्तु संग्राहलयले जनाएको छ।

 

 

प्रकाशित: ७ फाल्गुन २०७३ ११:४९ शनिबार

अशोक स्तम्भ नजिकै फेला परे प्राचीन भग्नावशेष