समाज

मुगुमा प्रभात फेरी गरेर मनाइयो प्रजातन्त्र दिवस

६७ औं राष्ट्रिय प्रजातन्त्र दिवशका अवसरमा गमगढीमा निकालिएको प्रभात फेरी कार्यक्रममा सहभागीहरु बजार परिक्रमा गर्दै। तस्बिरः सुमन मल्ल

सुमन मल्ल

मुगु– ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवशका अवसरमा शनिबार बिहान प्रभात फेरीसहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ।

बिहान ८ बजे सदरमुकाम गमगढीको अदालत चोकबाट जिल्ला स्थित राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरु, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा सुरक्षा कर्मि प्रभात फेरीमा सहभागि भएका थिए।

प्रभात फेरीमा ¥याली बजार परिक्रमा गरी जिल्ला प्राविधिक कार्यालयको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो।
कोण सभामा सहभागी भएका स्थानीय र राजनीतिक दलका नेता कार्य कर्ताहरुले देशमा प्रजातन्त्र स्थापनाका लागि बलिदान गर्ने सहिदहरुलाई एक दिन मात्र नसम्झेर उनीहरुले सोचे जस्तो समृद्धसाली देश निर्मामा एकजुट भए मात्र सहिदहरुप्रतिको सच्चा श्रदान्जली हुने टिप्पणी गरेका थिए। दिवश मनाउन र सहिद प्रति श्रद्धान्जली दिन स्थानीय राजनितीक दलहरुको न्यून उपस्थिती रहेको र निजामति कर्मचारी, सुरक्षाकर्मीको मात्र उपस्थिती रहेको प्रति कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले खिन्नता व्यक्त गरे। राजनीतिक दलहरुले एक आपसमा आरोप प्रत्यारोप गर्नुभन्दा देशको विकास, शान्ति र राजनितिक स्थिरता कायम गर्न एक जुट भए मात्र शहिद दिवश मनाउनुको अर्थ हुने प्रजिअ शर्माले धारणा राखे।

कार्यक्रममा दिवशका अवसरमा आयोजना गरिएका ब्याडम्यान्टिन प्रतियोगिता र देउडा गीत प्रतियोगिताका विजेताहरुलाई प्रमाण पत्रसहित नगद पुरस्कार समेत वितरण गरिएको थियो।
 

 

प्रकाशित: ७ फाल्गुन २०७३ ०८:१९ शनिबार

मुगुमा प्रभात फेरी गरेर मनाइयो प्रजातन्त्र दिवस