समाज

स्कुल हिँडेकी छात्रालाई बलात्कार प्रयास

खोटाङ– खोटाङमा बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन्। उच्च माबि जाँदै गरेको छात्रालाई बलात्कार गर्न खोजेको आरोपमा बाकाचोल–७ का ३० वर्षीय मीनबहादुर पुरीलाई प्रहरीले पक्राउ गरेको हो। पुरीमाथि त्रिभुवन उच्च माबि ऐसेलुखर्क जाँदै गरेकी छात्रालाई फागुन ४ गते जबरजस्ती गर्न खोजेको अभियोग छ।

जबरजस्ती करणी गर्ने मनसायले पुरीले लछारपछार गरिरहेको अवस्थामा स्थानीयले कक्षा १२ मा अध्ययनरत छात्रालाई उद्दार गरेका थिए। एक्लै उच्च माबि जाँदै गरेको मौकामा ऐसेलुखर्कस्थित झुलेडाँडाको जङ्गलमा पुरीले जबरजस्ती करणी गर्न खोजेको पीडित पक्षको आरोप छ । पीडित छात्रा स्वास्थ्य परीक्षणका लागि शनिबार जिल्ला अस्पताल खोटाङ आएकी छन्।

स्थानीयको उद्दारपछि घर फर्किएकी छात्राले ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा दिएको उजुरीको आधारमा पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोज यादवले बताए। पक्राउ परेका पुरीलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएको छ।

छात्रामाथि भएको बलात्कारका घट्नालाई गाउँमै मिलापत्र गराउन खोजेको खुलासा भएको छ। आरोपित पुरी पक्राउ परे लगत्तै आफन्तले मिलापत्र गराउन प्रहरीलाई दबाब दिइरहेको श्रोतको भनाई छ। प्रहरीले भने पीडित पक्षले किटानी जाहेरी नदिएकाले मुद्दा दर्ता गर्न नसकिएको बताएको छ।

प्रकाशित: ७ फाल्गुन २०७३ ०८:१७ शनिबार

स्कुल हिँडेकी छात्रालाई बलात्कार प्रयास