जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त घरमै लुकेको सूचना पाएपछि मेरो कमाण्डमा चार जनाको टोली इलाका प्रहरी कार्यालय करदेवलबाट बिहान चार बजे पक्राउ गर्न हिँड्यौँ।
दुई घण्टाको पैदल यात्रापछि हामी फरार प्रतिवादी शंक बुढाको घरमा पुग्यौँ। ढोकामै प्रतिवादीकी श्रीमती र आमा भेटिए। मैले शंक कहाँ छन्? भनेर प्रश्न गरेँ। उनीहरूले एकै स्वरमा शंक घरमा नभएको बताए।
हामीलाई शंक घरमै लुकेर बसेको पक्का सूचना प्राप्त भएको थियो। त्यसैले घर खानतलासी गर्ने निधोमा हामी पुग्यौँ। उनी बाहिरबाट बन्द गरिएको घरकै एक कोठामा सुतिरहेको अवस्थामा फेला परे। हामीले उनलाई पक्राउ गरेर हत्कडी लगायौँ। सिधै जिल्ला लिने तयारी हाम्रो थियो। घरबाट आँगनमा ल्याउने बित्तिकै २५–३० जना गाउँले जम्मा भए। उनीहरू सबैका हात हातमा लाठी थियो।
कुराकानी हुन नपाउँदै उनीहरूले एक्कासि हामी र पीडित परिवारका सदस्यमाथि लाठी बर्साउन थाले। पीडककी श्रीमतीले सुरुमा आक्रमण गरेकी हुन्। हामी प्रहरी चौकीबाट जम्मा चार जना मात्रै गएका थियौँ।
२५–३० जनाले एकै पटक आक्रमण गर्न थालेपछि ज्यान बचाउनै धौ–धौ भयो। अझ हाम्रो कर्तव्य पीडित परिवारको ज्यानको सुरक्षा महत्त्वपूर्ण थियो। त्यसैले पीडित परिवारलाई बचाउन थाल्दा अभियुक्त शंक हतकडीसहित फरार हुन सफल भए।
स्थिति नियन्त्रण बाहिर गएपछि जिल्लामा गोली चलाउनका लागि आदेश माग्नका लागि फोन गरेँ। फोन सम्पर्क हुन सकेन्। हामीमाथि निरन्तर आक्रमण भइरहँदा केही स्थानीयहरु रमिते बनिरहेका थिए। घाइते बलात्कार पीडितका आफन्त धनबहादुर विकको अवस्था गम्भीर छ। थप उपचारका लागि पहल भए पनि त्यो सफल हुन पाएन्।
जनताको सुरक्षाका लागि खटिएको सुरक्षाकर्मीलाई केही अराजकहरुले आक्रमण गरेर घाइते बनाउँदासमेत राज्यले उद्धार गर्न नसक्दो रहेछ भन्ने तितो यथार्थ मैले यो पटक भोग्न पाएँ। टाउको, तिघ्रा, पेट जताततै चोक पटक लागेको छ मेरो पनि।
पीडित दलित परिवारलाई बचाउन खोज्दा यो अवस्था आयो। हामीमाथि आक्रमण गर्ने सबैलाई मैले चिनेको छु। सुरुमा फरार अभियुक्तसहित उनको पूरै परिवारलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ। आक्रमणमा संलग्न अरू गाउँलेहरुलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्छ।
–कालिकोटमा सोमबार गाउँलेको कुटाईबाट घाइते भएका प्रहरी सहायक निरीक्षक लक्ष्मी रुद्र रावतसँग गरिएको कुराकानी।
प्रकाशित: २५ वैशाख २०८० १२:३६ सोमबार