समाज

कांग्रेस वडा सभापति श्रेष्ठको परिवारमाथि कुटपिट

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ नेपाली कांग्रेसका सभापति कृष्णभक्त श्रेष्ठ र उनका छोराहरुमाथि कुटपिट भएको छ।

कुटपिटको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुरले भत्सर्ना गरेको छ।

सभापति भेषबहादुर थापाले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी बैशाख २२ गते विहान नौ बजेको समयमा उनीहरुमाथि कुटपिट भएको जनाएका हुन्। घरमै रहेको अवस्थामा श्रेष्ठ परिवारलाई दर्जनौ अपरिचित व्यक्तिहरुले कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ।

स्थानीय राजन पौडेल र निजकी श्रीमती करुणालगायतले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ। मार्नेसम्मको मनसायले कुटपिट गरेको देखिएको तर पछि स्थानीयले बचाएको जनाइएको छ। घटनाबाट पीडितहरुको अंगभंग भएको जनाएको छ। घटना सम्बन्धमा महानगरीय प्रहरी प्रभाग मध्यपुर थिमिमा निवेदन दिंदा निवेदनसमेत नलिएको भन्दै विरोध गरिएको छ।

प्रकाशित: २५ वैशाख २०८० ११:२२ सोमबार