समाज

भिट्टामोड–जनकपुर सडक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

महोत्तरीको समग्र विकासका लागि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ध्यानकष्र्ण गराउन पुगेको महोत्तरीबासीसँग छलफलमा सहभागीहरु।

महोत्तरी– एक दशकदेखि बेवास्ताको शिकार भई जीर्ण अवस्थामा रहेको भिट्टामोड–जलेश्वर–जनकपुर सडक तिव्रगतिमा निर्माण कार्य सम्पन्न गर्नु पर्ने माग गर्दै महोत्तरीवासीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका छन्।

सडक निर्माण गर्ने ठेक्का पाएका श्री प्रतिभा वाई पिजेभी र श्री आशिष पप्पु रोशन जेभीले कात्तिक पहिलो सातादेखि चार लेनको सडक निर्माण कार्यको थालनी गरे पनि काम सोचे जति गतिमा नभएको भन्दै महोत्तरीबासीले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको हो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामआधार कापरको नेतृत्वमा सभासद् गिरिराजमणि पोख्रेल, सभासद् शिवजी यादव, सभासद निशा साह, विश्वनाथ साह, राजु खड्का, रानि शर्मा र सकारात्मक विकासका लागि नागरिक समाजका अध्यक्ष राजकिशोर झालगायत ५० जना भन्दा बढी संख्यामा काठमाडौ पुगेका महोत्तरीवासीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सडकको काम अत्यन्तै धिमी गतिमा भई रहेको र यहि गतिले काम भए तोकिएकै समयभित्र काम पूरा हुन नसक्ने भएकाले सडक निर्माण कार्यलाई तिव्रता दिएर समयमै सम्पन्न गर्न गम्भीर हुन आग्रह गरेका थिए ।

काम शुरु भएको चार महिना वित्ति सक्दा समेत सडक विभाग , हुलाकी राजमार्ग आयोजना र ठेकेदारको ढिलासुस्तीको कारण भिट्टामोड –जलेश्वर– जनकपुर सडकमा माटोको काम समेत सम्पन्न हुन सकेको छैन।

सडक निर्माणसम्बन्धी जानकार प्राविधिकहरुका अनुसार अहिले सम्म माटो र ग्राभेल दुवै काम सम्पन्न भई सक्नु पर्ने थियो तर सम्बन्धि निकायको ढिलासुस्तीको कारण अहिले सम्म माटोकै काम पुर्ण रुपमा पूरा हुन नसक्दा समयमै काम पूरा हुन सक्ने सम्भावना न्यून रहेको बताउँछन्।

प्रकाशित: ६ फाल्गुन २०७३ १२:२१ शुक्रबार

भिट्टामोड–जनकपुर सडक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण