समाज

पशुपति विकास बृहत् गुरुयोजना बन्दै

काठमाडौं- पशुपति क्षेत्रको विकास बृहत् गुरुयोजना निर्माण सुरु भएको छ। गुरुयोजना निर्माणका लागि गरिने कार्यशाला शृंखलाको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे।

पशुपति क्षेत्रको विकासका लागि विगतमा लागू गरिएका योजनाको समीक्षा गर्दै भूउपयोगसहितको बृहत् गुरुयोजना निर्माण गरिने कोष सञ्चालक परिषद्का सदस्य सचिव डा. गोविन्द टन्डनले जानकारी दिए। 'नदी, जंगल, जमिनलगायत पशुपति क्षेत्रका सबै स्रोत तथा सम्पदाको समुचित उपयोगसहितको गुरुयोजना निर्माणको परिकल्पना गरेका छौं', उनले भने यसअघिको गुरुयोजनाले गरेका र गर्न नसकेका कामका विषयमा समेत समीक्षा गर्दै गुरुयोजना बन्नेछ।' राष्ट्रिय–अन्तर्राष्ट्रिय धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा १५ वर्षमा सम्पन्न हुने गरी गुरुयोजना बन्ने सदस्यसचिव टन्डनले जानकारी दिए।

'नदी, जंगल, जमिनलगायत पशुपति क्षेत्रका सबै स्रोत तथा सम्पदाको समुचित उपयोगसहितको गुरुयोजना निर्माणको परिकल्पना गरेका छौं।',

गुरुयोजना निर्माणका लागि सुझाव पेस गर्न असारसम्म पाँचवटा कार्यशाला आयोजना गरिने कोषले जनाएको छ। कार्यशालामा पशुपति क्षेत्रका मूर्त–अमूर्त सम्पदाका विषयमा विज्ञको कार्यपत्रमाथि स्थानीय प्रतिनिधि तथा विज्ञको रायअनुसार प्रतिवेदन तयार पारिने बताइएको छ। ती प्रतिवेदनका आधारमा गुरुयोजना निर्माण अघि बढाइने कार्यकारी निर्देशक रमेश उप्रेतीले बताए। 'विश्व सम्पदा सूचीमा रहेका पशुपति क्षेत्रका पाँच सयभन्दा बढी मन्दिर तथा स्मारकको उचित संरक्षणसहितको पर्यटन अभिवृद्धिका लागि नयाँ गुरुयोजना आवश्यक परिसकेको छ।' उनले भने।

कार्यशाला उद्घाटन गर्दै मन्त्री शाहीले पशुपति क्षेत्रको बृहत् गुरुयोजना सम्पन्न गराउनका लागि चाहिने स्रोतका लागि नेपाल सरकारले कुनै कञ्जुस्याइँ नगर्ने बताए। 'धार्मिक मत्र नभई कलासंस्कृतिको समेत खुला संग्रहालयका रूपमा विकास गरेमा पशुपतिले मुलुकको अर्थतन्त्रमा समेत ठूलो योगदान गर्नेछ। त्यसैले बृहत्तर विकासको अवधारणाअनुसार संरचना निर्माण गरिनुपर्छ', उनले भने। पर्यटक, दर्शनार्थी र तीर्थयात्रीको बढ्दो चापलाई दीर्घकालसम्म व्यवस्थापन गर्ने अवधारणासहित गुरुयोजना बनाउन उनले सुझाव दिए। संग्रहालय, धर्मशाला विस्तार, विद्युत्, टेलिफोन सुविधासहितको पर्यटकीय वातावरण निर्माण गर्न सके पशुपतिको पर्यटनले अझै फड्को मार्ने मन्त्री शाहीको भनाइ छ।

पूर्वसचिव तथा इन्जिनियर किशोर थापाले पशुपति गुरुयोजना बनाउँदा समग्र नगर विकासको योजनासँग समन्वय गर्न सुझाव दिए। गुरुयोजना बनेपछि स्थानीय जनता लाभान्वित हुनुपर्ने उनको राय थियो।

यसअघि ०५८ मा पशुपति क्षेत्रको विकासका लागि अवधारणात्मक गुरुयोजना बनाई लागू गरिएको थियो। १० वर्षे उक्त गुरुयोजनाले पशुपति क्षेत्रका केही संरचना मात्र निर्माणको परिकल्पना गरेको थियो। 'गुरुयोजनाका केही काम भइसकेका छन्। केहीको भने व्यावहारिक समीक्षा गर्नु आवश्यक देखिन्छ', सदस्य सचिव टन्डनले भने, 'पहिलेको गुरुयोजनाले पशुपतिमा कैलाशनाथको अग्लो मूर्ति बनाउने परिकल्पना गरेको थियो। त्यसले पशुपतिनाथको मन्दिरलाई नै पो ओझेल पार्ने हो कि? भन्ने शंका छ। यस्तै खालका केही योजनाको समीक्षा गर्दै नयाँ गुरुयोजना बनाउने हो।' पहिले बनिसकेका संरचनाको संरक्षण, सुधार र विकाससहितको गुरुयोजना बन्ने उनले जानकारी दिए।

वि.सं. १८६७ मा गीर्वाणयुद्धविक्रम शाह राजा हुँदा पशुपति क्षेत्रमा रहेको सार्वजनिक जग्गा पशुपति मन्दिरका नाममा दान गरेर पशुपति क्षेत्र विकासको अवधारणा सुरु भएको थियो। धेरै समय पछि २०४३ मा वीरेन्द्र शाह राजा हुँदा पशुपति क्षेत्र विकास कोष स्थापना गरी पशुपति क्षेत्रको विकासको परिकल्पना गरिएको थियो। कोषका अनुसार त्यसपछि ०४६ सालमा पशुपतिको पश्चिम क्षेत्रको विकासको गुरुयोजना बनेको थियो। ०५८ मा लागू गरिएको गुरुयोजना पशुपति क्षेत्र तेस्रो योजना हो। यो गुरुयोजनाअन्तर्गत दुई सय ६४ हेक्टर जमिन अधिग्रहण गर्ने काम सम्पन्न भएको कोषले जनाएको छ। त्यही क्षेत्रको उपयोगसहित अब बन्ने बृहत् गुरुयोजना पशुपति क्षेत्र विकास योजनाको इतिहासमा चौथो योजना हो। यो गुरुयोजना निर्माणका लागि सरकारले सात करोड रुपैयाँ बजेट छुट्ट्याएको कोषले जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०७३ ०४:०३ शुक्रबार

पशुपति विकास बृहत् गुरुयोजना बन्दै