समाज

सत्यनिरुपणको बैठक बोलाउन भट्टको माग

काठमाडौं- सत्यनिरुपण तथा मेलमिलाप आयोगका कामकारबाही नियमित नभएपछि सदस्य माधवी भट्टले यथाशीघ्र बैठक बोलाउने निर्देशन सचिवालयलाई दिन बिहीबार अध्यक्ष सूर्यकिरण गुरुङलाई पत्र लेखेकी छन्। आयोगस्रोतका अनुसार दुई वर्षका लागि गठित आयोगको म्याद सरकारले एक वर्ष थप गरे पनि आयोगको नियमित काम हुन सकेको छैन। सदस्य भट्टले आयोगको नियमित काम माघ २० देखि फागुन ५ सम्म दुई सातादेखि नभएको बेहोरासहित नौवटा अजेन्डा राखेर बैठकका लागि पत्राचार गरेकी हुन्।

सदस्य भट्टले आयोगमा रहेका ५८ हजार उजुरीको सुरक्षा के कसरी गर्ने भन्ने निर्णय लिनुपर्ने, आयोगको पूर्वनिर्णयअनुसार सात प्रदेशका मुकाममा कार्यालय खोजी उजुरी अनुसन्धान सुरु गर्न सचिवालयलाई निर्देशन दिने अजेन्डा राखेकी छन्। त्यसैगरी, हाल प्रदेश मुकाम कार्यालयमा केकति संख्यामा उजुरी केन्द्रीय कार्यालयमा पठाउने, प्रदेश मुकाम कार्यालयमा आवश्यक कर्मचारी व्यवस्था, त्यहाँ कुन–कुन प्रकृतिका उजुरीको छानबिन गर्ने, आयोगको एकवर्षे कार्यकालको ठोस कार्ययोजनाबारे समेत अजेन्डा राख्न आग्रह गरिएको छ।

आयोगमा विचाराधीन परिपुरणसम्बन्धी कार्यविधिमाथिको छलफल निष्कर्षमा पुर्‍याउन र केन्द्रीय र प्रदेशस्तरमा आवश्यक विज्ञको सूची तयार पार्ने अजेन्डासमेत भट्टले अघि सारेकी छन्। आयोगको एकवर्षे म्याद थप भएपछि पनि काम सुचारु नहुँदा गम्भीर प्रश्नचिह्न खडा भएको उल्लेख गर्दै उनले उक्त पत्रको बोधार्थ सत्यनिरुपण तथा मेलमिलाप आयोग सचिवालय, राष्ट्रिय मानवअधिकार आयोग र व्यवस्थापिका संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिलाई समेत दिएकी छन्।

'पीडितलाई न्याय दिन आयोगको कामको गति अघि नबढेका कारण चिन्तित भएर मैले अध्यक्षलाई पत्राचार गरेकी हुँ', भट्टले बिहीबार नागरिकसँग भनिन्। पत्रमा उल्लिखित विस्तृत विवरण भने उनले खुलाउन चाहिनन्।

प्रकाशित: ६ फाल्गुन २०७३ ०३:१७ शुक्रबार

सत्यनिरुपणको बैठक बोलाउन भट्टको माग