समाज

काठमाडौँ महानगरले भोलि देखि अव्यवस्थित तार हटाउने

काठमाडौँ महानगरपालिकाले भोलि (वैशाख २५ गते) बाट महानगरपालिका क्षेत्रभित्रका अव्यवस्थित तार  व्यवस्थापन गर्ने भएको छ।

आज महानगर प्रहरी बलका प्रमुख राजु नाथ पाण्डेको कार्यकक्षमा साझेदार बिच भएको छलफलबाट भोलिबाट काम थाल्ने निर्णय गरिएको हो।

महानगर प्रहरी बलका प्रमुख पाण्डेका अनुसार भोलि बिहान माइती घर मण्डला र न्यूरोड गेटबाट व्यवस्थापनको काम थालिनेछ।

सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिम लगायत पक्षमा छलफल गर्दै बैठकले, पहिलो चरणमा माइती घर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ।

यसमा नेपाल विद्युत् प्राधिकरण, दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन्। 

प्रकाशित: २४ वैशाख २०८० १४:३७ आइतबार

काठमाडौँ महानगर