समाज

साधुको शव बोराभित्र हालेर खोलामा फालिएकाे भेटियाे

वीरगन्ज–  पर्सामा एक जना साधुको लास बोराभित्र राखेर खोलामा फालिएको अवस्थामा फेला परेको छ । पाँच दिनदेखि गाउँमा देखिन छाडेका लंगडी–२ घर भएका अन्दाजी ६० वर्षे हिरालाल दासको लास लंगडी र मुड्ली गाउँको बीचमा पर्ने सिक्टा नदीमा बुधबार दिउँसो करिब १२ बजे फेला परेको हो।

गाउँबाट भैंसी चराउन गएकाहरुले पोखरिया–भिषुवा सडकखण्डको सिक्टा खोलाको पुलमुनि बोराभित्र गन्हउँदै गरेको शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बोरा खोलेर हेर्दा त्यहाँभित्रबाट पुरुषको शव फेला परेको र उक्त शव दासकै भएको पहिचान भएको थियो।

‘कुहिएको अवस्थामा लास थियो, करिब ५ दिन पुरानो हुनु पर्ने हो,’ जिल्ला प्रहरी पर्साका प्रहरी उपरीक्षक चक्रराज जोशीले भने, ‘घटना र लाशको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने देखिन्छ।’

मृतकका परिवारका मानिसहरु घरमा ताला लगाएर फरार छन्। घरपरिवारका मानिसहरुले नै दासको हत्यागरी फरार भएको प्रहरी र स्थानीयको अनुमान छ।

दास विगत लामो समयदेखि साधु बनी गाउँमै बस्दै आएका थिए। छिमेकीका अनुसार गत शुक्रबार साँझ परिवारमा उनको झगडा भइरहेको सुनिएकने थियो। शनिबार बिहानदेखि उनका छोरा बुहारीसहित परिवारका कोही पनि देखिएको छैन। ढोकामा ताला छ।

‘हामीले परिवारका मानिसहको खोजी कार्य गरिरहेका छाैं,’ जोशीले भने।

प्रकाशित: ५ फाल्गुन २०७३ १३:४६ बिहीबार

साधुको शव बोराभित्र हालेर खोलामा फालिएकाे भेटियाे