समाज

नगर क्षेत्रभित्रका अव्यवस्थित तारहरू हटाउँदै वीरगन्ज महानगर

वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू हटाउन थालेको छ।

महानगरपालिकाले आइतबार पहिलो चरणमा माईस्थान चौकदेखि घण्टाघर सम्मको दायाँ बायाँ तथा सडकका पोलहरुमा गुजुल्ट्याएर राखिएको तारहरु हटाउन सरु गरेकाे हाे।

महानगरपालिकाले तार व्यवस्थापन सम्बन्धी अभियान नै चलाएको छ। अव्यवस्थित तारले वीरगन्ज कुरूप बन्दै गएपछि महानगर क्षेत्रमा सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग गत वैशाख १४ गते बैठक बसेर नगर क्षेत्रको अव्यवस्थित तार काटेर हटाउने निर्णय गरेको थियो। सोही निर्णयका अनुसार वीरगन्जका मुख्य तथा सहायक सडकका पोलहरुमा झुण्ड्याईएका टेलिफोन, इन्टरनेट तथा सेवा प्रदायक कम्पनीका अव्यवस्थित तार काट्न सुरु गरिएको समितिका प्रमुख बृजेश प्रधानले जानकारी दिए।

उनले भने “गण्डक देखी रजत जयन्ती चोक (मेनरोड) र सहायक सडकका अव्यवस्थित तारलाई व्यवस्थित गर्नका लागी हामीले अभियान कै रुपमा काम गरिरहेका छौ। सेवा प्रदायक कम्पनिहरुलाइ बारम्बार जानकारी गराउँदा उनीहरुले बेवास्ता गरेपछि हामी आफै तार व्यवस्थापन तर्फ लागेका हौ।”

प्रमुख प्रधानका अनुसार महानगरको यो अभियानले सेवा प्रदायक कम्पनीहरूबाट सेवा लिईरहेका सेवाग्राहीलाई भने कुनै प्रकारको मर्का नपर्ने गरी कार्य भइरहेको छ।

यस अघि बसेको बैठकमा महानगरभित्र सेवा प्रवाह गर्ने सबै इन्टरनेट तथा केवल सेवा प्रदायकका प्रतिनिधि बोलाइएको भए पनि ५ वटा सेवा प्रदायकका प्रतिनिधि मात्रै सहभागी भएका थिए। नेपाल टेलिकम, सीजी नेटवर्क, भायनेट, म्याक्स र हकनेटका प्रतिनिधि बैठकमा सहभागी थिए।

महानगरका सडकका पोलहरु मै लत्रिएर रहेका तारहरुले वीरगन्ज सहर नै कुरूप देखिनुका साथै आगो लाग्ने जोखिम पनि बढेको थियो। हावाहुरीको समयमा तार आफैँ चुँडिएर मानिसहरुलाई समेत चोटपटक लाग्ने गरेको थियो। त्यस्तै सवारी साधानहरुलाई समेत ओहोरदोहोर गर्न समस्या हुने गरेको सवारी चालकले गुनासो गर्दै आएपछि महानगरले तार व्यवस्थापन गर्ने अभियान चलाएको हो।

प्रकाशित: २४ वैशाख २०८० १२:२३ आइतबार