समाज

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

बाक्लो मगर बस्ती। काठ, ढुंगा र माटोले सलक्क बान्की मिलाइर बनाइएका घरहरू। रातोमाटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका छन्। वारिपारि गाउँमा बिचमा कलकल बग्ने तमानखोला। चौबिसै घण्टा सिरसिर हावा चलिराख्ने यो गाउँको विशेषता हो।

बागलुङको तमानखोला गाउँपालिका-३ मा पर्ने यो गाउँ निकै रमणीय छ। परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ। करिब डेढ दशक अगाडि मोटरबाटोले जोडिएको तमान गाउँमा अहिले छुट्टै रौनक देखिन्छ।

विसं २०६७ मा सडकले जोडिए पनि उतिबेला अहिलेको जस्तो चहलपहल हुँदैनथ्यो। म्याग्दीको ओखारबोटदेखि लाम्मेला हुँदै तमान जोडिएको सडकले अहिले गाउँको मुहारै फेरिदिएको छ। गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि तमान गाउँको आकर्षक भनेको ढुंगे घर नै हो। गाउँमा प्रशस्तै ढुंगा पाइने हुँदा स्थानीयले सदुपयोग गरी घरलाई चिटिक्क बनाउँदै आएका छन्। जिल्लाको धेरै ठाउँमा यस्ता मौलिक घर हराउँदै गइरहेका सन्दर्भमा यहाँ भने जहाँतहीं देख्न सकिन्छ। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले झनै मोहित बनाउँछ।

विसं २०६७ मा सडकले जोडिए पनि उतिबेला अहिलेको जस्तो चहलपहल हुँदैनथ्यो। म्याग्दीको ओखारबोटदेखि लाम्मेला हुँदै तमान जोडिएको सडकले अहिले गाउँको मुहारै फेरिदिएको छ।

गाउँका टोलटोल र बस्तीबस्तीमा एकै प्रकारका घरले आगन्तुकलाई घण्टौ भुलाउन सक्छन्। तर,पछिल्लो समय आधुनिक प्रविधिको विकासले यस्ता मौलिक घर संकटमा पर्ने खतरा बढेको छ। गाउँमा सडकको सहज पहुँच पुगेपछि कंक्रिटका घर तथा भवन ठडिन थालेका छन्। यस्ता घर भवनलाई रोकी तमानलाई ‘मौलिक गाउँ’का रूपमा विकास गर्न तमानखोला गाउँपालिकाले योजना बनाएको छ।

गाउँपालिकाले गाउँका सबै घरलाई एउटै रङ, एउटै शैली र एउटै आकारप्रकारको बनाउने योजना अघि सारेको छ। तमान गाउँमा अब कसैले पनि कंक्रिटका भवन बनाउन नपाउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए।

प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले तमान गाउँलाई पुरानै स्वरूपमा संरक्षण गर्न थालेको उनको भनाइ छ। पछिल्लो समय स्थानीय स्तरमा भएका स्रोतसाधनलाई बिर्सिएर आयातित वस्तुको प्रयोग बढी हुन थालेको हुँदा यसलाई रोक्ने प्रयास गरेको अध्यक्ष बुढामगरले बताए।

‘तमान निकै पुरानो गाउँ हो, अहिले पनि यहाँका घर पुरानै शैलीका छन्, गाउँको संस्कार संस्कृति र परम्परा पनि अहिलेसम्म जीवितै छ, अब मासिदै जाने खतरा बढेको छ, यसलाई रोक्न हामी लागेका छौं, तमान गाउँलाई एउटा ‘सांस्कृतिक गाउँ’ बनाउने उद्देश्य हो’, अध्यक्ष बुढा मगरले भने।

गाउँका टोलटोल र बस्तीबस्तीमा एकै प्रकारका घरले आगन्तुकलाई घण्टौ भुलाउन सक्छन्। तर,पछिल्लो समय आधुनिक प्रविधिको विकासले यस्ता मौलिक घर संकटमा पर्ने खतरा बढेको छ।

गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको उनको भनाइ छ।

अध्यक्ष बुढामगरले यस गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गरिने बताए। घरका छेउछाउमा ढुंगा बिछ्याउने, घरमा लगाइने रङ, ढुंगाको छानो पनि एकै प्रकारको बनाइने उनको भनाइ छ।

देशका दश नमुना शहरमध्येको एक बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा तमान गाउँ पुग्न सकिन्छ। बोङ्गादोभान र खुङ्खानी दुवैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ।

स्थानीय ओमकुमारी बुढाथोकीले पछिल्लो समय गाउँमा मौलिक घर कम बन्न थालेको बताइन्। अहिले बन्ने अधिकांश घर नयाँ शैलीका हुने गरेको उनको भनाइ छ। नयाँ घरमा पहिलेको जस्तो रातोमाटो र कमेरोले पोत्न छोडेर विभिन्न थरीका रङ लगाउन थालिएको बुढाथोकी बताउँछिन्।

बुढाथोकी भन्छिन्, ‘अहिले त गाउँ घरमा बजारको जस्तो चलन आउन थालिसक्यो, घरहरू पनि नयाँनयाँ खालका बन्न थाले, चालचलन पनि नयाँ आए, उतिबेलाको जस्तो परम्परा अहिले मान्न छोडियो, मान्छे पढ्ने लेख्ने भए, त्यही भएर होला पुराना संस्कृति सबै विस्तारै हराउँदै गएका छन्।’

देशका दश नमुना शहरमध्येको एक बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा तमान गाउँ पुग्न सकिन्छ। बोङ्गादोभान र खुङ्खानी दुवैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ।

स्थानीय मनबहादुर बुढाथोकीले पहिले तमान गाउँका अबै घर ढुंगामाटोको गारो र छानो पनि ढुंगैको हुने गरेकोमा अहिले सिमेन्ट र जस्तापाताले छाउन थालेको बताए।

तमान गाउँमा अहिले करिब दुई सय ५० घर रहेकामा आधा दर्जन बढी सिमेन्टका कंक्रिट बनेको सुनाए। गाउँपालिकाले कलासंस्कृति संरक्षण गर्न बनाएको योजना स्वागतयोग्य रहेको बुढाथोकीको भनाइ छ।

‘पहिला गाउँका पूरै घर ढुंगाले छाएका थिए, उतिबेला गाडी गुड्ने सडकको पहुँच थिएन, जस्तापाता आउँदैनथ्यो, घर बनाउँदै ढुंगाकै प्रयोग हुन्थ्यो, अहिले त गाउँको कुनाकाप्चासम्म सडक पुग्यो, सडक जहाँ पुग्यो, त्यही जस्तापाता पुग्यो, जस्तापाता पुगेपछि मान्छेले त्यसैले घर छाउन थाले’, बुढाथोकीले भने। पहिले घर स्थानीय सिकर्मी र डकर्मीले बनाउँथे, उनीहरूमा निकै राम्रो कला र सीप भए पनि अहिले त्यो सीप पनि हराएको उनको भनाइ छ।

प्रकाशित: २४ वैशाख २०८० ०७:०८ आइतबार

बागलुङको तमानखोला गाउँपालिका प्रविधिको बढ्दो विकास र प्रयोग