समाज

मृतक २८ जनाका लागि कुवेतबाट पाँच करोड क्षतिपूर्ति

काठमाडौं- कुवेतस्थित नेपाली दूतावासले डेढ वर्षयता कुवेतमा काम गर्दागर्दै मृत्यु भएका नेपालीले क्षतिपूर्तिस्वरूप पाएको पाँच करोड रुपैयाँभन्दा बढी रकम परराष्ट्र मन्त्रालयलाई पठाएको छ। २८ जना मृतकको क्षतिपूर्तिबापतको बिमा रकम, बाँकी तलब, सेवापछि पाउने रकम, सम्बन्धित कम्पनीबाट पाउने सहयोग रकम गरी कुल पाँच करोड पाँच लाख १९ हजार सात सय ११ रुपैयाँ उनीहरूको आफन्तलाई दिन भन्दै दूतावासले परराष्ट्रमा पठाएको हो।

'कुवेतमा विगतमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकको क्षतिपूर्ति प्राप्तिका लागि दूतावासले कानुन व्यवसायीको मद्दत लिएर आवश्यक कार्य अगाडि बढाएको थियो,' कुवेतस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'दूतावासको निरन्तर प्रयासपछि डेढ वर्षयता उल्लेखनीय रूपमा क्षतिपूर्ति रकम प्राप्त भएको थियो। यसरी प्राप्त पाँच करोड पाँच लाख १९ हजार सात सय ११ रुपैयाँ कामदारको कानुनी हकदारले प्राप्त गर्नेगरी परराष्ट्र मन्त्रालयमा पठाइसकिएको छ।'

दूतावासले चितवनका दीपक श्रीमलका नाममा एक करोड ४२ लाख ५० हजार रुपैयाँ र खोटाङको चन्द्रबोल राईका नाममा ८८ लाख ९९ हजार ६ सय रुपैयाँ पठाएको छ। यस्तै तेह्रथुमका तितबहादुर कटुवालका नाममा ५६ लाख रुपैयाँ, नुवाकोटका हिकमान तामाङका नाममा ४६ लाख ६७ हजार रुपैयाँ, दाङका जनकबहादुर बस्नेतका नाममा २९ लाख ७९ हजार रुपैयाँ, मकवानपुरका कामीसिंह गोलेका नाममा २९ लाख २५ हजार रुपैयाँ, तनहुँका यामबहादुर बस्नेतका नाममा २९ लाख ८ हजार रुपैयाँ पठाएको छ।

प्रकाशित: ५ फाल्गुन २०७३ ०१:५४ बिहीबार

मृतक २८ जनाका लागि कुवेतबाट करोड क्षतिपूर्ति