समाज

जापानवासी नेपालीले मनाए बुद्ध जयन्ती

जापानमा २५६७ औँ बुद्ध जयन्ती मनाइएको छ। नेपाली राजदूतावास जापानले बुद्ध जयन्तीको अवसरमा राजधानी टोकियोमा एक औपचारिक कार्यक्रम आयोजना गरेको हो।

नेपाल तथा जापानको राष्ट्रिय गान, द्विप प्रज्वलन, बौद्ध धर्म मन्त्रोच्चारण सहित सुरु भएको कार्यक्रममा जापानका लागी नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले स्वागत मन्तव्य व्यक्त राखे।

सो अवसरमा राजदूत सुवेदीले नेपाल जापान सम्बन्ध, बौद्ध धर्मगुरुको नेपाल यात्रा सहित जापानमा बौद्ध धर्मको प्रचार प्रसार एवं नेपालमा जापानले माया देवी मन्दिर पुनर्निर्माण सहित नेपालको बृहत्तर विकासमा पुर्‍याइरहेको सहयोगको चर्चा सम्म गर्न भ्याए।

नेपालमा रहेको गौतम बुद्ध जन्मस्थल लुम्बिनी, जापानको बौद्ध धर्ममा आधारित सांस्कृतिक विभिन्न पक्षको बारेमा चर्चा सहित बर्सेनि जापानी बौद्ध अनुयायिहरुको नेपाल यात्राको बारेमा बोल्दै राजदूत सुवेदीले नेपाल र जापान द्धौंत्य सम्बन्ध र मित्रताको बारेमा आफ्नो धारणा राखे।

कार्यक्रममा जापानी नागरिक युको ओकामोतोले बौद्ध धर्ममा आधारित नेपालमा विशेष गरी नेवार समुदायभित्र बज्राचार्य समुदायले विशेष रुपमा प्रदर्शन गर्ने चर्या नृत्य प्रस्तुत गरिन्।

करिब तीन सय जना सहभागी कार्यक्रममा टोकियो र आसपासको क्षेत्रमा रहेका नेपालीहरु, विशिष्ट जापानी अतिथिहरू सहित बाक्लो संख्यामा जापानी नागरिकहरुको पनि सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जापानी प्रतिनिधिसभाका सदस्य हिरागुची हिरोशिले ३० वर्षअघि पहिलो पटक नेपालको प्रमुख चाड दसैँ मनाएको स्मरण गराए। नेपाल र जापानको खाना खाने संस्कार पनि मिल्ने बताउँदै हिरागुचीले बौद्ध धर्म जापानको पुरानो धर्म भएको र जापानको नैतिक शिक्षा समेत बौद्ध धर्ममा आधारित रहेको बताए।

यसै गरी कार्यक्रममा विशेष अतिथिको रुपमा शोजी केनिचिले आफ्नो सम्बोधन गर्नुका साथै जापानी प्राध्यापक डा.मुसाशी ताचिकावाले बौद्ध धर्म सम्बन्धी आफ्नो विशेष खोज सामग्री प्रस्तुत गरे।

कार्यक्रममा जापानमा प्राध्यापन गर्दै आएका प्रोफेसर सुदन शाक्यले पनि बौद्ध धर्मको अनुसन्धानात्मक सामग्री प्रस्तुत गरेका थिए । कार्यक्रममा राजदूत डा. दुर्गा बहादुर सुवेदीले प्राध्यापक विद्धान डा. मुसासी ताचिकावा र निचिनोकेन कान्तो संस्थाका अध्यक्ष इशामु कोजिमालाई बौद्ध धर्म सम्बन्धी खोज अनुसन्धान गरेको भन्दै सम्मान गरेका थिए।

यसै गरी राजदूत सुवेदीले जापानी नागरिक हिरागुची हिरोशी, शोजी केनिचि, नेपाल सम्बन्धी चलचित्र निर्माण गरेका डा. तोशिआकी इतो, बौद्ध धर्मका अध्येता तथा प्राध्यापक डा. सुदन शाक्य, युको ओकामोतोलाई बुद्ध जयन्तीको अवसरमा दूतावासको तर्फबाट मायाको चिनो प्रदान गरे।

प्रकाशित: २३ वैशाख २०८० १४:२९ शनिबार

टोकियो २५६७ औँ बुद्ध जयन्ती जापानका लागी नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी