समाज

किर्ते गरी बस्ती नै अाफ्नाे नाममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ पक्राउ

गौर(रौटहट)– किर्ते गरी बस्ती नै आफ्नो नममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ जना भूमाफियालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

लक्ष्मिनियाँ गाविस–२ विजयपुरमा रहेको ८७ घरधुरी क्षेत्रफलसहितको  ४ बिघा जग्गा आफ्नो नाममा गराएको आरोपमा फतुवाहर्षाहा–४ का पूर्व गाविस अध्यक्ष सुरेन्द्र यादव र नवलकिशोर राय यादवललाई प्रहरीले पक्राउ गरेको जिप्रका रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए ।  

भारतीय मुलका नागरिक जयन्तकृष्ण मैत्रको नाममा रहेको र सरकारी हदबन्दी भन्दा बढी भई जफत गरिएको जमीनलाई जग्गाधनी नवलकिशोरलाई खडा गरी नक्कली कागजात तथा नक्कली सजिमन गराई २०७३ मंसिर ३ गते पास गराएको नागरिक न्यूजमा प्रकाशित भएपछि उक्त विषयमा प्रहरीले अनुसन्धान थालेको थियो।

किर्ते गरेको पाइएपछि उक्त जमिनको नापी र भूमिसुधार लगत बदर गरिएको थियो।

उक्त घटनाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नापीलगायतका निकायले अनुसन्धान गरिरहेका थिए।

प्रहरीको अनुसन्धानका क्रममा नक्कली छापलगायतका कागजातसहितका प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरिएको एसपी पोखरेलले बताए।

फरार अभियुक्तहरु गाउँमा आएको थाहा पाएपछि जिप्रका गौर र इलाका प्रहरी कार्यालय कटहरियाबाट खटि गएको टोलीले उनीहरुलाई पक्राउ गरेको उनले जानकारी दिए।

प्रकाशित: २ फाल्गुन २०७३ १२:३८ सोमबार

किर्ते गरी बस्ती नै अाफ्नाे नाममा पास गराउने पूर्व गाविस अध्यक्षसहित पक्राउ