समाज

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना: तीन जनाको अवस्था गम्भीर,काठमाडौं ल्याइदै

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो। नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उनको भनाइ छ।

दुर्घटनामा गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइदै छ।

भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा दुर्घटना भएको थियो । अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो। हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो। रासस

प्रकाशित: २२ वैशाख २०८० ०९:१८ शुक्रबार

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना