समाज

‘लोकतन्त्रका लागि प्रेस बलियो हुनुपर्छ’

मानव अधिकार तथा शान्ति समाजका सभापति रामकृष्ण बरालले लोकतन्त्र बलियो हुनका लागि प्रेस बलियो हुनुपर्ने बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा समाजको काठमाडौँ शाखाले आयोजना गरेको प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिता विषयक कार्यक्रममा बोल्दै बरालले भने, ‘मानव अधिकार तथा शान्ति समाज जहिले पनि स्वतन्त्र प्रेसको पक्षमा छ। त्यसैले प्रेसमाथिको ज्यादती कहिल्यै पनि स्वीकार गर्दैन।’

जोरपाटीस्थित इस्टपोल स्कुलमा आयोजित कार्यक्रममा समाजको काठमाडौँ शाखाका सभापति प्रमोद फुयाँलले अहिले पत्रकारिताले बाटो बिराइरहेकाले यसलाई सुधार्न सबै लागिपर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

शिक्षाविद् ईश्वरी सापकोटाले मर्यादित प्रेसले मात्र समाजलाई मार्गनिर्देश गर्न सक्ने भएकाले प्रेसलाई बाटो बिराउने सुविधा नभएको उल्लेख गरेका थिए।

वाग्मती सफाइ अभियन्ता उत्तम पुडासैनीले प्रेसको भूमिका महत्वपूर्ण भएकाले सबै क्षेत्र, समुदायलाई यसले सही बाटोमा लैजान सके मात्र पत्रकारिताको महत्व बढ्ने बताएका थिए।

कार्यक्रममा पत्रकार रघुनाथ लामिछाने अहिले नेपाली पत्रकारिता बिरामी परेकाले शान्ति समाजजस्ता आफन्तहरूको साथ सहयोग आवश्यक परेको धारणा राखेका थिए।

स्वतन्त्रता भनेको छाडापन होइन भन्दै उनले पत्रकार भन्दैमा जे पनि गर्ने छुट हुन नहुने पनि बताए। उनले भने, ‘पत्रकारितालाई कसैबाट खतरा छ भने त्यो पत्रकारबाटै छ। त्यसैले पत्रकारिताको मूल्य/मान्यता अँगाल्दै अघि बढ्ने हो भने यो क्षेत्र आफैँ बलियो बन्नेछ।’

प्रकाशित: २२ वैशाख २०८० ०३:०९ शुक्रबार

मानव अधिकार तथा शान्ति समाज सभापति रामकृष्ण बराल शिक्षाविद् ईश्वरी सापकोटा