समाज

सुमो जलाएर चालक मार्ने थुनामा

रामेछाप– जिल्लाको मझुवा १ निगालपानीमा गत मंसिर ९ गते भएको सुमो आगजनी घटनामा संलग्न रहेको आरोप लागेका मनकुमार लिम्बूलाई जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

जिल्ला न्यायाधिश किरणप्रसाद सिवाकोटीको इजलासले लिम्बूलाई थुनामा राख्न आदेश दिएको हो। गाडीमा आगो लगाई चालक झापा घर भएका विशाल खड्काको हत्यामा संलग्न भएको अभियोगमा उनलाई थुनामा पठाइएको हो। तेह्रथुम पौठाक गाविस ६ का लिम्बू ‘अयोग्य’ माओवादी लडाकु हुन्।

लिम्बूसँगै पक्राउ परेकी रसुवा सरनथलीकी १७ वर्षीया विन्दु तमाङलाई भने पाँच हजार धरौटी लिई तारेखमा छाडेको जिल्ला अदालतले जनाएको छ। तामाङ लिम्बूसँग प्रेमसम्बन्धमा रहेको प्रहरीले जनाएको छ।

झापाको दमकबाट उनीहरु पक्राउ परेका थिए। घटनाको मुख्य योजनाकार दोरम्बाका प्रज्वल पाठक भने फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख कुमोद ढुंगेलले बताए।

 

प्रकाशित: १ फाल्गुन २०७३ १३:१० आइतबार

सुमो जलाएर चालक मार्ने थुनामा