समाज

सीमावर्ती क्षेत्रबाट इलेक्ट्रिक सामान र गाँजा बरामद

सशस्त्र प्रहरीले बरामद गरेको गाँजासहित ट्रकका चालक र सहचालक।

सशस्त्र प्रहरीले कोशी प्रदेशका सीमावर्ती क्षेत्रमा कडाई गरेसँगै अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउने गरेको सामान बरामद हुने क्रम बढेको छ।

यस क्रममा झापा मेचीनगर वडा नं. ७ बाट इलेक्ट्रिक सामानहरु र  मोटरपार्टस गरि एक लाख ८९ हजार रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरी बल झापा २ नं. गणबाट खटिएको टोलीले बरामद गरेको छ।

सशस्त्र प्रहरीको टोलीले प्रज्ञापन पत्र समेत नलिएको भारतीय नम्बरको डब्लुबी ७४ एटि ३९४० नम्बरको मारुती चेकजाँच गर्दा ती सामान बरामद गरेको हो। सशस्त्र प्रहरीले सो मारुती भ्यान समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल कोशी प्रदेश मुख्यालय पकली सुनसरीका डिआइजी अञ्जली पोखरेलले बताए।

यसै गरी, सशस्त्र प्रहरीले नै धरानबाट दुई सय २७ केजी गाँजा बरामद गरेको छ। धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ भी ९४८९ नम्बरको टाटा मिनी ट्रक शंका लागेर चेकजाँच गर्दा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल ४ नं. गण सुनसरीले जनाएको छ।

सशस्त्र प्रहरीले ट्रक चालक धनकुटाका ३४ वर्षे चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुमका २८ वर्षे चुणामणी कटुवालसहित गाँजा र नगद ६० हजार बरामद गरिएको ४ नं. गण सुनसरीका डिएसपी प्रेम सिग्देलले बताए।

सशस्त्र प्रहरीले थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाएको जानकारी दिएको छ। सशस्त्र प्रहरी बल ४ नं. गण सुनसरीले यही महिनाभित्र ५१३ केजी गाँजा बरामद गरेको छ।

प्रकाशित: २१ वैशाख २०८० १२:३४ बिहीबार