समाज

सार्वजनिक सवारीले विद्यार्थी ओसार्दा सर्वसाधारणलाई सास्ती

ललितपुर- सार्वजनिक यातायात व्यवसायीले नियमित रुटमा सवारीसाधन नचलाई निजी विद्यालयका विद्यार्थी बोक्न थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। बिहान र बेलुकी यात्रु चाप रहने समयमै व्यवसायीले तोकिएको रुटमा सवारीसाधन नचलाइदिँदा यात्रुले दुःख पाउने गरेका छन्।

कार्यालय समय काठमाडौंको सुन्धारा, रत्नपार्क, बानेश्वर, माइतीघर, कुपन्डोल, ग्वार्को, सातदोबाटो, चावहिल, बौद्ध, जोरपाटी लगायत क्षेत्रमा यात्रुले सार्वजनिक सवारीसाधन पाउँदैनन्।

कार्यालय समय उपत्यकाका प्रमुख सडक र चोकमा सवारी कुर्ने यात्रुको चाप हुने गरेको महानगरीय ट्राफिक महाशाखा प्रवक्ता एसपी लोकेन्द्र मल्लले बताए।

'व्यवसायीले आफ्नो नियमित रुटमा सवारीसाधन नचलाई विद्यार्थी बोक्न थालेकाले कार्यालय समयमा करिब ४८ हजार यात्रु यातायात सुविधाबाट वञ्चित हुने गरेेको अध्ययनले देखाएको छ,' उनले भने।

हालसम्म भएका सवारी दुर्घटनामा स्कुलले प्रयोग गरेेका सार्वजनिक सवारीसाधन बढी देखिएको आफूहरुको अध्ययन देखाएको मल्लले बताए।

'बढी टिप बोक्ने लोभमा यातायात व्यवसायीले स्कुलका विद्यार्थी बोक्ने गरेका छन्,' उनले भने, 'यसले दुर्घटना पनि बढाएको छ।'

समयमै सवारी चढ्न नपाउँदा धेरै कर्मचारी कार्यालयमा ढिलो पुग्ने गरेको पनि अध्ययनले देखाएको छ।

उपत्यकाका निजी विद्यालयले प्रत्येक बिहान–बेलुका १२ सयदेखि १३ सयसम्म सार्वजनिक सवारीसाधन प्रयोग गरेको ललितपुर ट्राफिक प्रहरी इन्चार्ज सीताराम हाछेंथुले बताए।

'उपत्यकामा नाम चलेका स्कुलले सबैभन्दा बढी निजी गाडी कब्जा गरेका छन्,' उनले भने, 'यसकारण कार्यालय समयमा यात्रुले सवारी सुविधा पाउन सकेका छैनन्।'

उनका अनुसार काठमाडौं उपत्यकामा झन्डै १५ सय निजी विद्यालयले प्रयोग गर्ने पहेंलो रङका तीन हजार सवारीसाधन छन्। नामी विद्यालय, जहाँ विभिन्न क्षेत्रका विद्यार्थी पढ्छन्, उनीहरुलाई सवारीसाधन कमी हुने भएकाले सार्वजनिक सवारी प्रयोग गर्छन्।

हाछेंथुका अनुसार निजी विद्यालयमध्ये सबैभन्दा बढी लिटिल एन्जलस बोर्डिङ स्कुलले एक सय, सेन्ट जेभियर्सले ५० र जेम्स स्कुलले ८० सार्वजनिक सवारीसाधन प्रयोग गर्दै आएका छन्।

सार्वजनिक यातायात व्यवस्था ऐनअनुसार अनुमति पाएको रुटबाहिर सार्वजनिक सवारीसाधन चलाउनुपरे पटके इजाजतपत्र लिनुपर्छ। सार्वजनिक सवारीसाधनले ऐन–नियम उल्लंघन गरेको पाइएको यातायात व्यवस्था विभाग प्रवक्ता डा. टोकराज पाण्डेले बताए। 'व्यवसायीले रुटबाहिर सवारी चलाउँदा विभागसँग अनुमति लिएका छैनन्,' उनले भने, 'यसरी नियम मिच्ने व्यवसायीलाई कारबाही गर्छौं।'

००

प्याब्सन केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसीले सर्वसाधारणले सास्ती भोग्नुपरेकाले निजी विद्यालयले आफ्नै सवारी प्रयोग गर्न सुझाए। 'धनी र नामी स्कुलले नै यसो गर्नु मर्यादाविपरीत हो,' उनले भने, 'निजी विद्यालयले आफ्नै सवारीसाधन प्रयोग गर्नुपर्छ।'

प्रहरीका अनुसार लिटिल एन्जल्स बोर्डिङ स्कुलको ३०, सेन्ट जेभियर्सको २०, जेम्स स्कुल ८०, एभिएम स्कुल २५, सेन्ट मेरिज ३५, युनाइटेड एकेडेमी ३०, शुभतारा स्कुल २०, वनस्थली उमावि ४०, वेलह्याम्स २० वटा निजी सवारी छन्।

'विद्यार्थीको संख्यालाई हेर्ने हो भने यति सवारीसाधनले पुग्दैन, तर विद्यालयले सजिलो र सस्तोका लागि सार्वजनिक सवारीसाधन प्रयोग गर्ने गरेका छन्,' ट्राफिक प्रहरी इन्चार्ज हाछेंथुले भने।

निजी स्कुलका सञ्चालक भने गाडी किन्न पर्याप्त रकम नभएकाले सार्वजनिक सवारी प्रयोग गर्नुपरेको बताउँछन्। 'हामीलाई निजीभन्दा सार्वजनिक गाडी नै प्रयोग गर्न सहज हुन्छ,' सेन्ट जेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक अमृत राईले भने।

लिटिल एन्जल्स स्कुल हात्तीवनका सञ्चालक उमेश श्रेष्ठ अन्य स्कुलको तुलनामा आफूहरुसँग निजी गाडी बढी भएको बताउँछन्। 'स्कुलसँग पैसा नभएकाले केही   सार्वजनिक सवारी प्रयोग गरेका हौं,' उनले भने।

यातायात व्यवस्था विभाग महानिर्देशक चन्द्रमान श्रेष्ठले थोत्रा स्कुलबस हटाउन र विद्यालयलाई सार्वजनिक बस प्रयोग गर्न नदिने प्रावधान लागू गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्राचार गरेका बताए। 'परिषद्बाट निर्णय हुनासाथ लागू गर्छौं,' उनले भने।

प्रकाशित: १ फाल्गुन २०७३ ०४:२३ आइतबार

सार्वजनिक सवारीले विद्यार्थी ओसार्दा सर्वसाधारणलाई सास्ती