समाज

हुलाकी राजमार्ग निर्माण अलपत्र: तत्काल काम सुचारु नगरे आन्दोलनमा उत्रने जनप्रतिनिधिहरूको चेतावनी

हुलाकी सडकमा भइरहेको लापरबाहीको विरोधमा विराटनगरमा पत्रकार सम्मेलन पछि आन्दोलनबारे छलफल गर्दै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू। तस्बिर: विनोद सुवेदी/नागरिक

हुलाकी सडक निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै मोरङका जनप्रतिनिधिहरूले आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी मोरङको दक्षिणी क्षेत्रका स्थानीय तहका प्रमुखहरू, प्रदेशसभा सदस्य, र प्रतिनिधिसभा सदस्यहरूले एक साता भित्र काम सुरु नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्।

हुलाकी सडक निर्माणमा हदै सम्मको ढिला सुस्ती र लापरबाही भएका कारण मोरङको रतुवामाई देखि विराटनगर सम्मका स्थानीयले असाध्यै दुःख पाइरहेको मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले बताए।

उनले आफूहरूले पटक–पटक सम्बन्धित निकायमा पहल गर्दा पनि कुनै सुनुवाई नभएकाले आन्दोलनमै उत्रन बाध्य हुने अवस्थामा पुगेको बताए।

पोखरेलले भने ‘तत्काल काम सुरु नभए स्थानीय जनतासँगै हामी जनप्रतिनिधिहरू पनि सडक आन्दोलनमा उत्रन्छौँ।’

पोखरेलले सडक भत्काएर एक महिना देखि काम नगरी ठेकदारहरूले अलपत्र पारेको बताए। उनले आफूहरूले ठेकदारहरूलाई काम गर्न नसक्ने अवस्था भए पुरानो सडक नभत्काउन आग्रह गरेको भए पनि ठेकदारहरूले बेवास्ता गरी सडक भत्काएर काम अलपत्र पारेको गुनासो गरे।

‘काम गर्न नसक्ने अवस्था भए बर्खा अघि सडक नभत्काउन हामीले आग्रह गरेका थियौँ ’ पोखरेलले भने ‘तर, सडकको पुरानो पिच जोतेर माटो भरेर अलपत्र छाडिएको छ।’

ठेकदारहरूले सडक निर्माणमा लापरबाही गर्दा विराटनगर– रतुवामाई खण्डको सडकमा यात्रा गर्न नसकिने अवस्था आएको छ। यति मात्रै हैन अत्यधिक धुलोका कारण सडक आसपासका बस्तीहरू नै उठीबास लाग्ने अवस्थामा पुगेको पोखरेलले बताए। उनले भने ‘सडकमा हिँड्न सक्ने र घरमा बस्न सक्ने अवस्था छैन।’

रंगेली नगरपालिकाका प्रमुख दिलीप वगडीयाले हुलाकी सडक तत्काल निर्माण सुरु नभए स्थानीय तहका जनप्रतिनिधिसहित स्थानीय बासिन्दा सडक आन्दोलनमा उत्रन बाध्य हुने बताए।

उनले भने ‘हुलाकी सडक तत्काल निर्माण सुरु नभए सडक नै ठप्प पारेर आन्दोलनमा उत्रन्छौँ।’

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले हुलाकी सडकको दुरावस्था हुनुको कारण ठेकदार मात्रै नभई कर्मचारीहरू पनि भएको बताए।

‘हुलाकी सडक निर्माणमा ठेकदार मात्रै हैन कर्मचारीहरू अझै बढी गैर जिम्मेवार छन्’ चौधरीले भने‘ कर्मचारीहरू त जनप्रतिनिधिको फोनसमेत उठाउँदैनन्।’

संघीय सरकारले बनाउन नसक्ने हो भने निर्माणको जिम्मा स्थानीय तहलाई दिन चौधरीले माग गरे। 

उनले भने ‘संघीय सरकार हुलाकी सडक बनाउन सक्दैन भने सडक निर्माणको जिम्मा बजेटसहित स्थानीय तहलाई दिए हुन्छ। हामी बनाउँछौँ।’

धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदारले हुलाकी सडकको धनपालथान खण्डको हालत अझै खराब भएको बताए। उनले पुरानो पिच भत्काएर माटो भरेर छाडिएकाले स्थानीयले अहिले धुलोको र बर्खालागेपछि हिलोको दलदलमा फस्नुपर्ने अवस्था रहेको बताए।

‘अहिले धुलोले हैरान पारेको छ’ बर्खालागेपछि हिलोले सवारीसाधन नै चल्न नसक्ने अवस्था छ।’ मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेन्द्र मण्डलले ठेकदार र कर्मचारीलाई भैँसीको उदाहरण दिँदै विन बजाएर भैँसीले नटेर्ने बताए।

‘भैँसीलाई विन बजाएर टेर्दैन’ मण्डलले भने ‘लाठी नै चलाउनुपर्छ।’

प्रदेश सभा सदस्य भीम पराजुलीले कानुनी त्रुटिका कारण विकास आयोजनाहरूमा समस्या देखिएको बताए। पराजुलीले सार्वजनिक खरिद ऐन संशोधन गर्न र समयमा काम नगरेर लापरबाही गर्नेलाई कारबाही गर्ने व्यवस्था गर्न माग गरे।

पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, सुनवर्षीका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदार र कटहरीका अध्यक्ष देवराज चौधरी सहभागी थिए।

प्रकाशित: २१ वैशाख २०८० ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App