समाज

उद्याेगीकाे सहयाेगमा सामुदायिक विद्यालय भवन निर्माण

निजी क्षेत्रले बनाइदिएको वीरगन्ज –१८ स्थित विद्यालय। तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– युवा उद्यमीहरुको संस्था राउण्ड टेबुल ३ वीरगन्जले एउटा स्थानीय साममुदायिक विद्यालयको कायापलट गरिदिएका छन्। अहिले करिब ३ सय छात्रछात्रा अध्ययनरत रहेको वीरगन्ज –१८, लक्षुमनास्थित सिन्दुसिया माई आधारभुत विद्यालय निर्माणको लागि राउण्ड टेबुलले करिब ६० लाख रुपैयाँ खर्च गरेको छ। शनिवार एक समारोहबीच सो विद्यालय उद्घाटन गरिएको छ ।
‘समाजको उन्नतीको लागि र मानवलाई सभ्य बनाउनका लागि विद्यालयको परिकल्पना पौराणिक कालदेखि रही आएको छ, आधुनिक कालमा यो अझै धेरै महत्वपूर्ण छ। त्यसकारण शिक्षाक्षेत्रमा गरिने यस्ताखाले योगदान वास्तविक रुपमा समाजको लागि उल्लेखनीय कार्य हो,’ उद्घाटन समारोहका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने, ‘निजी क्षेत्रले समाजिक दायित्वअन्तर्गत गर्ने यस्ताखाले लगानीलाई सार्थक हो।’ उनले विद्यालयमा शान्तिपूर्ण, बालमैत्री र पठनपाठनका लागि उपयुक्त वातावरण बनाइदिने जिम्मा समुदायको भएको उनले टिप्पणी गरे।

जिल्लामा रहेका सामुदायिक विद्यालयहरुको तुलनामा भौतिक संरचनाको हिसाबले बढी व्यवस्थित र सुन्दर बनेको यो विद्यालयमा शैक्षिक उपलब्धी पनि उत्कृष्ट राख्नुपर्ने बक्ताहरुले जोड दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरचन्द्र यादवले आफ्नो गााउँमा राम्रो संरचनायुक्त विद्यालय स्थपनामा योगदान दिएका राउण्डटेबल आबद्ध सबैलाई धन्यवादका पात्र भने।

उनले यसको संरक्षरण र संचालनमा स्थानीय समुदायले राम्रो भुमिका गर्ने विश्वास जनाए। ७ कोठे भवन ८ वटा शौचालयसहितको संरचना बनाउन वीरगन्ज उपमाहानगरपालिका कार्यालयले ८ कठा ऐलानी जग्गा विद्यालयलाई दिएको हो। संरचना करिब २ वर्षमा आफूहरुले तयार गराएको राउण्डटेबलका पूर्व अध्यक्ष मनोज दासले बताए। राउण्डटेबल नेपालका ‘शिक्षामार्फत स्वतन्त्रता’ भन्ने अभियानअन्तरगत यो विद्यालय बनाइएको उनले बताए।
 

प्रकाशित: २९ माघ २०७३ १२:२६ शनिबार

उद्याेगीकाे सहयाेगमा सामुदायिक विद्यालय भवन निर्माण