समाज

धुलो उठाउने 'ब्रुमर' प्रयोगविहीन

काठमाडौं- काठमाडौं उपत्यकामा धुलो नउड्ने सडक विरलै छन्। सडक विस्तार र खानेपानी पाइप बिछ्याउने कार्य भइरहेकाले अचेल सहरमा जता पनि कुइरीमण्डल धुलो देखिन्छ। सरकारी निकायसँग केही थान धुलो बढार्ने मेसिन 'बु्रमर' भए पनि त्यसलाई प्रयोगमा ल्याउन सकिएको छैन। सडक विभाग र महानगरपालिकासँग गरी ६ वटा बुम्रर छन्।

महानगरका तीनमध्ये दुईवटा ब्रुमर बिग्रिएर थन्किएका छन्। समयमै मर्मतसम्भार नगर्दा करोडांै मूल्यका बु्रमर मेसिन प्रयोगहीन भएका हुन्।

महानगरपलिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले दुईवटा बु्रमर बिग्रिएर थन्किएको बताए। 'चीनबाट अनुदानमा आएका दुवै मेसिन बिग्रिएका छन्,' उनले भने, 'एउटामात्रै बु्रमर सञ्चालनमा ल्याएका छांै।' महानगरको आठ–आठ मिटरभन्दा साना सडकमात्रै सफा गर्ने जिम्मेवारी भएको उनले बताए। 'महानगरभित्रका सबै सडकको धुलो नियन्त्रण गर्ने जिम्मेवारी हाम्रो होइन', उनले भने 'महानगरले फोहोरमैला व्यवस्थापन गर्ने हो।'

धुलो नियन्त्रणका लागि दैनिक चार घन्टा चारवटा ट्यांकरले पानी छर्किने र एउटा बु्रमरले सडक सफा गर्दै आएको महानगरपालिकाले जनाएको छ।

सडक विभाग यान्त्रिक महाशाखाको स्वामित्वमा तीनवटा ब्रुमर छन्। ती पनि सही ढंगले प्रयोगमा ल्याइएको छैन। 'भएका बु्रमर प्रयोग गरेको देखिन्न,' सडक विभागका एक अधिकारीले भने, 'कालोपत्रे सडक धुलाम्मे छन्। तर धुलो नियन्त्रण गर्न कसैले चासो दिएको छैन।' कार्यालयहरूबीच समन्वय अभावमा ब्रुमर मेसिन सञ्चालनमा नल्याइएको ती अधिकारीले बताए।

सडक विभाग यान्त्रिक महाशाखाका डेपुटी महानिर्देशक हरिराम आचार्यले धुलो नियन्त्रणका लागि तीनवटा ब्रुमर मेसिन सम्बन्धित निकायलाई उपलब्ध गराएको जानकारी दिए। महाशाखाले आयोजना कार्यान्वयन निर्देशनालयलाई दुई र डिभिजन सडक कार्यालय काठमाडौं २ लाई एउटा ब्रुमर उपलब्ध गराएको छ।

'महाशाखाले धुलो नियन्त्रणका लागि सम्बन्धित निकायलाई मेसिन हस्तान्तरण गरिसकेको छ,' आचार्यले भने, 'अब धुलो सफा गर्ने काम उनीहरूकै हो।'

राजधानीमा सडक विस्तार गर्ने, खानेपानी पाइपलाइनका लागि सडक खन्ने, ढल निर्माणका लागि सडक खोतल्ने, बिजुली र सोलारका लागि पोल राख्ने धेरै निकाय छन्। सडक संरक्षण र मर्मतसम्भार गर्ने जिम्मेवारी भने काठमाडौं महानगरपलिका र सडक विभागको छ। आठ मिटर चौंडाइभन्दा साना सडकको मर्मत  महानगरपलिकाले र अन्य सडकको मर्मत विभागले गर्छ। अहिले काठमाडौंंका अधिंकाश सडक धुलाम्मे छन्। तर मर्मत गर्ने दुवै निकाय एक अर्काेलाई देखाएर पन्छिने गरेका छन्।

स्वास्थ्य परिषद्को एक अनुसन्धान प्रतिवेदनअनुसार उपत्यकामा वर्षमा २०७ दिन (५७.७ प्रतिशत) प्रदूषणको मात्रा राष्ट्रिय औसतभन्दा बढी (हानिकारक अवस्थामा) रहन्छ। वरिष्ठ श्वासप्रश्वास रोगविशेषज्ञ डा. अर्जुन कार्कीले राजधानीको धुलो र प्रदूषण भावी पुस्तालाई समेत ठूलो स्वास्थ्य चुनौतीका रूपमा रहेको बताए।  उनका अनुसार धुलो र प्रदूषणका कारण  हाच्छिउँ आउने, नाक बन्द हुने, घाँटी खसखस हुने र छालामा डाबर आउने समस्या देखिन्छन्। लामो समयसम्म घाँटी दुख्ने र खोकी लाग्ागेमा श्वासप्रश्वासमा दीर्घकालीन समस्या देखा पर्न सक्छन्।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले राजधानीमा अहिले एकैपटक धेरै पूर्वाधार निर्माण भइरहेकाले तत्काल धुलो नियन्त्रण गर्न असहज भएको बताए। 'धुलो नियन्त्रणका लागि नियमित रूपमा पानी छर्किरहेका छौं। तर त्यतिले प्रभावकारी देखिएन', उनले भने, 'धुलो नियन्त्रण गर्न सबै सडक कालोपत्रे गर्नुपर्छ।'

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले सडक धुलाम्मे भएकाले बु्रमर मेसिन प्रभावकारी नभएको बताए। उनले भने, 'केही दिनअघि मीनभवन सडकमा बु्रमर मेसिन प्रयोग गरेका थियौं, मेसिनले बाक्लो धुलो तान्नै सकेन।' प्रवक्ता ढकालले निर्देशनालयले पानी छर्किने, पानीको फोहोराले धुलो हटाउने लगायतका कार्यक्रम ल्याउन लागेको जानकारी दिए।

काठमाडौं महानगरपलिकाले ६ महिनाभित्रै चारवटा बु्रमर मेसिन ल्याउने तयारी गरेको महानगरका कार्यकारी अधिकृत तामाङले जानकारी दिए। 'पुरानो मेसिन काम गर्दैनन् नयाँ सानो क्षमताका छन्। त्यसैले धुलो नियन्त्रण गर्न गाह्रो भएको हो,' उनले भने, 'नयाँ ब्रुमर खरिदका लागि डुकुमेन्टेसन गरिरहेका छौं। सम्भवतः ६ महिनाभित्रै चारवटा ब्रुमर मेसिन ल्याउनेछौं।'

महानगरपलिकाले झन्डै १० करोड रुपैयाँ लागतमा चारवटा बु्रमर मेसिन खरिद गर्ने भएको छ। महानगरपलिका वातावरण महाशाखाका प्रमुख रविनमान श्रेष्ठले ब्रुमर मेसिन  कालोपत्र गरिएको चिलो सडकमा मात्रै प्रयोग गर्न सकिने बताए। 'ब्रुमर मेसिन खाल्डाखुल्डी नभएको कालोपत्रे गरेको सडकमा मात्रै प्रयोग गर्न सकिन्छ', उनले भने, 'खाल्डाखुल्डी भएको सडकमा मेसिन चलाएमा उतिखेरै बिग्रिहाल्छ।' 

सडक  विभागका प्रवक्ता दयाकान्त झाका अनुसार पाइपलाइन बिछ्याइसकेपछि उपत्यकाका सडक कालोपत्र गरिनेछ। 'अहिले पूर्वाधार निर्माणको सिजन हो। कतै पाइपलाइन बिछ्याइएको छ, कतै सडक विस्तार भइरहेको छ। त्यसैले सडकमा धुलो देखिएको हो,' उनले भने, 'धुलो भयो भन्दैमा विकास निर्माण रोक्न नमिल्ने रहेछ।' उनका अनुसार विभाग जतिसक्दो चाँडै सडक कालोपत्रे गर्ने तयारीमा छ।

उपत्यकाका ५० भन्दा बढी ठाउँमा पाइपलाइन बिछ्याउने कार्य भइरहेको छ। आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालका अनुसार घरघरमा धारा पुर्‍याउने ६ सय ७० किलोमिटरमध्ये पाँच सय ४० किलोमिटर क्षेत्रमा वितरण सञ्जाल तयार भइसकेको छ। ६० किलोमिटर मुख्य वितरण लाइनमध्ये ३९ किलोमिटर क्षेत्रमा ठूला पाइप जडान गरिसकेको छ। 'केही ठाउँमा पानी छर्कियो। एकदुई घन्टापछि फेरि उस्तै हुन्छ', उनले भने, 'धुलो नियन्त्रणको एकमात्रै विकल्प कालोपत्रे हो।' निर्देशनालयले पाइपलाइन बिछ्याएको तीनदेखि पाँच दिनभित्रै सडकमा अस्थायी कालोपत्रे गर्ने जनाएको छ।

प्रकाशित: २८ माघ २०७३ ०३:४१ शुक्रबार

धुलो उठाउने ब्रुमर प्रयोगविहीन