समाज

लापरबाहीकै कारण भासिएको थियो धार्केको गणेश खोला पुल

नयाँ पुल निर्माणको क्रममा पुरानो पुलको फाण्डेशन भासिएपछि सोमबार दिउसोदेखि मंगलबार बिहानसम्म ठप्प बनेको धादिङको धार्केस्थित गणेश खोला पुल । तस्बिर: शंकर श्रेष्ठ/नागरिक

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा रहेको गणेश खोला पुलको मुखमा सोमबार जमिन भासियो। पुलको फाउण्डेशनसँगै लगाइएको पर्खाल पहिरिए। सडक पिच गर्ने बेला विच्छ्याइएका ग्रावेलहरु पनि पर्खालसँगै ओइरियो। पुलको मुखैमा गाडी नै छिर्ला जस्तो भ्वाङ बन्यो। पुलमा गाडी गुडाउन सक्ने अवस्था रहेन। एक्कासि पृथ्वी राजमार्गको धार्के खण्डमा सवारी ठप्पै रोकियो।

पुलबाट सवारी आवागमन बन्द भएको सूचना नपाउँदै त्यस क्षेत्रमा पुगेका यात्रुहरूले धार्के बजार आसपासमा थुप्रिए। बाटो खुल्ने छाँट नदेखेपछि हिँड्न सक्ने र नजिकैको यात्रामा रहेकाहरुले सटकट बाटो हिँडेरै गन्तव्य समाए।

धादिङको धार्केस्थित गणेश खोला पुलको मुखमा जमिन भासिएर आउजाउ रोकिएपछि पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिकाको जरेखेल क्षेत्रमा रोकिएको यात्रुवाहक सवारीको लाइन। तस्बिर: शंकर श्रेष्ठ/नागरिक

पूर्व पश्चिमबाट त्यहाँ आइपुगेकाहरू पनि धेरैले नौबिसे र खानी खोलासम्म पैदल हिँडेर अर्को गाडीमा काठमाडौँ पुगे। हिँड्न नसक्ने र टाढाबाट आएकाहरु अधिकांशले आ–आफ्नै गाडीमा रात बिताए। सडक ठप्प भएको सूचना पाएपछि बीच बाटोमा रोकेका र आफै वैकल्पिक बाटो रोकेकाहरुको त गन्ती नै छैन।

मंगलबार (आज) बिहान १० बजेबाट एकतर्फी बाटो सञ्चालनमा आए पनि दिनै भरीजसो ती यात्रुले जामको सास्ती भोग्न बाध्य भए। यी सबै सास्तीको मुख्य कारण हो, नागढुंगा मलेखु मुग्लिङ सडक आयोजना र हाल नयाँ पुल निर्माण गर्ने ठेकेदार कम्पनी।

सोमबार दिउसो पुल छेउको जमिन भासिएर सडक अवरुद्ध बनेको धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६ र थाँक्रे गाउँपालिका वडा नं. ८ को सिमाना जोड्ने गणेश खोला पुलसँगै सडक आयोजनाले दुई लेनको नयाँ पुलको निर्माण कार्य थालेको छ। त्यही नयाँ पुलको फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशनको जग समेत खोतल्लिए। पुलको पिल्लरलाई सपोर्ट दिन लगाइएका पर्खालका ढुंगाहरु पनि थर्किए भासिन पुग्यो। सोमबार केहीबेरको बर्सातपछि सडकमा बगेको भल त्यही पस्यो। फाउण्डेशन कमजोर बनिसकेको पुलको मुखको जमिन हेर्दाहेर्दै भासियो।

स्थानीय जगन्नाथ आचार्य भन्छन्–‘पुरानो पुल पट्टी बढी नखोतल्नुस् पहिरो जान्छ पछि समस्या आउँछ भनेर कामदार र साइड हेर्ने इन्जिनियरलाई पटक पटक भन्यौ, हाम्रो कुरा सुन्नै चाहेनन्, अहिले यो अवस्था आयो।’

स्थानीय र जनप्रतिनिधिहरूले पनि एक महिना अघिदेखि नै पुलमा आउन सक्ने सम्भावित समस्या सडक आयोजना र ठेकेदार कम्पनीलाई बताएका रहेछन्। तर, उनीहरूले अटेर गरी ढिलासुस्ती गरिदिएकोले समस्या आएको धुनिवेसी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश आचार्यले बताए।

‘तीन दिनदेखि पुलमा सवारी एकतर्फी थियो, बाटो विस्तारको जिम्मेवारी पाएका सगुन कन्ट्रक्सनलाई पटक पटक अवगत गराएका थियौँ, नमानेर ढिलासुस्ती गरिरह्यो’, वडा अध्यक्ष आचार्य भन्छन् ‘ठेकेदारकै लापरबाही र ढिलासुस्तीकै कारण बाटो अवरुद्ध हुन पुग्यो।’

पुलको मुखमा सडक भासिन थालेको सूचना पाउने बित्तिकै घटनास्थल पुगेका प्रहरीहरु पनि नयाँ पुलको फाउण्डेशन बनाउने क्रममा सावधानी नअपनाएकै कारण समस्या उत्पन्न भएको बताउँछन्। 

‘सूचना पाउने बित्तिकै आउँदा नयाँ पुलको फाउण्डेशन खनेको ठाउँबाट माटो पहिरिन थालिसकेको थियो, एकैछिनमा सडक नै भ्वाङ पर्‍यो’, खानीखोला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबल बहादुर बम भन्छन्–‘झट्ट हेर्दा पुरानो पुलको फाण्डेशन भन्दा नयाँ पुलको फाउण्डेशनको गहिराई बढी भएको र नयाँ पुलको फाउण्डेशन खन्ने क्रममा पुरानो पुलपट्टिको भाग कमजोर बनेकोले वर्षातको भलले माटो बगाएर भासिन पुगेको देखिन्छ।’

सडक डिभिजन कार्यालय भरतपुरका सिनियर इन्जिनियर रमेश प्रसाद पौडेलले पनि नयाँ पुलको फाउण्डेशन खन्ने क्रममा माटो पहिरो गएको बताए।

नागढुंगा मुग्लिङ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर जयराम अधिकारी भने ठेकेदार र आयोजनाको कमजोरी भन्दा पनि वर्षात्को पानीले भासिएको बताउँछन्। सडक अपग्रेडिङ गर्ने क्रममा गणेश खोला पुलसँगै नयाँ पुल थप्न लागिएको र पुरानो पुलको भन्दा नयाँ पुलको फाउण्डेशन चार/पाँच मिटर गहिराईमा जानुपर्ने भएकोले पुरानो पुलको फाउण्डेशन भएको जमिनमा केही धक्का लागेको भए पनि कुनै क्षति नपुगेको बताउँछन्।

‘पहिलाको भन्दा अहिले बन्ने पुलको फाउण्डेशनको गहिराई करिब पाँच मिटर गहिरो छ। त्यसमाथि पुलको उचाई पनि अग्लो भएकोले स्लोपमा कटिङ गर्नुपर्दा पुरानो पुलको छेउसम्म पुगेको हो, तर क्षति पुगेको छैन’, अधिकारी भन्छन् ‘वर्षात्को बेला सडकमा बगेको भलले हानेर जमिन भासिएको हो, समाचारमा आएजस्तो पुल नै भासिएको होइन।’

गणेश खोलाको पुलमा दुई तर्फी खुलाउन भने तत्काल सम्भव नरहेको इन्जिनियर अधिकारीले बताएका छन्। नयाँ पुलको फाण्डेशनको काम सकेपछि मात्रै दुईतर्फी खुलाउन सकिने र त्यसका लागि दुई साता भन्दा बढी समय लाग्ने उनको भनाई छ।

हालको लागि एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने टरेको छैन। अहिले भासिएको ठाउँमा ग्याविन जाली लगाएर माटोले पुरिएको छ। ठुलो पानी परेर भल चल्यो भने फेरी पनि भासिने र भलले बगाउने जोखिम उत्तिकै छ।

आयोजनाले नौबिसेदेखि मुग्लिङसम्म १५ वटा नयाँ पुल निर्माण गर्दैछ भने तीन वटा पुरानो पुल मर्मत गर्दैछ।

प्रकाशित: १९ वैशाख २०८० १२:५१ मंगलबार