समाज

देवता बनाइँदा छुट्यो पढाइ

भक्तपुर- ऐतिहासिक मल्लकालीन नवदुर्गा गण नाचका क्रममा यहाँका विद्यार्थीको पढाइ छुट्ने गरेको छ। प्रत्येक वर्ष झन्डै आठ महिनासम्म चल्ने नाचमा यस वर्ष तीन विद्यार्थी संलग्न छन्।

सरस्वती विद्यामन्दिर कमलविनायक कक्षा ९ मा अध्ययनरत सागर वनमाला, माउन्ट भ्याली इंग्लिस स्कुल क्वाठण्डौ कमलविनायक कक्षा ६ मा अध्ययनरत दिपेश वनमाला र वागिश्वरी उच्च मावि च्याम्हासिंह कक्षा ६ मा अध्ययनरत सजन वनमाला यो नाचमा संलग्न भइरहेका छन् ।

माघ २ गतेदेखि भक्तपुरको सूर्यमढीबाट सुरु भएको हो । दिपेशले नाच सुरु भएदेखि एक दिन पनि स्कुल जान नपाएको बताए । ‘हरेक बिहानदेखि रातिसम्म नाचमा सहभागी हुनुपर्छ अनि कसरी स्कुल जान पाउनू,’ उनले भने, ‘नाच पनि घरनजिक, स्कुलनजिक गएर देखाउनुपर्ने भए पो, कहिले कता, कहिले कता पुगेर देखाउनुपर्छ ।’

नाच काठमाडौंको साँखु, टोखा, भक्तपुरको २१ टोलसहित उपत्यकाबाहिरका साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुलगायत क्षेत्रमा देखाइन्छ । भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँ, टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछेँ, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायत स्थानमा फरकफरक दिन नाच देखाउने परम्परा छ । त्यस्तै, भक्तपुर नगरबाहेक मध्यपुर थिमी, चाँगुनारायणलगायत स्थानमा पनि नाच देखाइन्छ ।

सजन वनमालाले नाच सुरु भएदेखि एक दिन पनि स्कुल जान नपाएको दुखेसो पोखे ।

प्रत्येक वर्ष माघ २ गतेबाट सुरु भई साउनको भलभल अष्टमीसम्म झन्डै आठ महिना उपत्यका र उपत्यका बाहिरका विभिन्न सहरमा सञ्चालन हुने यो नाचका लागि तीन बालक देवता बन्नुपर्छ, जसलाई सिंम्ह, दम्ह र बालकुमारी भनिन्छ । वनमाला थर भएका व्यक्तिको परिवारका बालक पालैपालो देवता बन्नुपर्छ । कहिले कुन परिवारका बालक त कहिले कुन परिवारका बालबालिका एक वर्षसम्म पढाइ छाडेर नाचमा संलग्न हुने गर्छन् । नाचमा मुकुन्डो लगाएर तीन बालकसहित १९ देवगण रहन्छन् ।

नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य

नारायणमान वनमालाका भक्तपुरको इनाचो, क्वाठण्डौ, नागपोखरी र चोर्चा टोलमा बस्ने वनमाला थरका परिवारबीच पालैपालो देवता बन्ने चलन छ । ‘बच्चा बेला देवता बन्नुपर्दा म पनि अशिक्षित भएँ,’ उनले भने, ‘म मात्रै होइन, हाम्रो वनमाला समुदायका धेरै युवा अशिक्षित छन् । यो चलनले वार्षिक तीन–तीन परिवारलाई परापूर्वकालदेखि समस्यामा पार्दै आएको छ ।’

परम्परादेखि प्रत्येक वर्ष निरन्तर चल्दै आएको यो ऐतिहासिक नाच हो । इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार वंशावलीका आधारमा यो नाचको थालनी भक्तपुरका राजा भुवन मल्ल (इस्वी सम्वत १५०५ देखि १५१९)ले सञ्चालनमा ल्याएका हुन्। 

 

प्रकाशित: २६ माघ २०७३ ०३:२४ बुधबार

देवता बनाइँदा छुट्यो पढाइ