समाज

‘गाईभैँसीबाटै आम्दानी हुन थालेपछि पासपोर्ट नै फालिदिए’

सुरेश ढुंगाना।

बेनी नगरपालिका–७ कुरिलाखर्कका युवा सुरेश ढुंगानाले एक दशक खाडीमुलका विभिन्न देशमा बिताए। बि.स २०७० सालमा नेपाल फर्किदा ढुंगानाले खाडी मुलुकको कतार, युएई, बहराइन र साउदी अरब फन्को मारिसेका थिए।

खाडीबाट फर्किदा ल्याएको आर्थिकबाट ढुंगानाले एउटा भैँसी र गाई खरिद गरे। करिब ५ लाख लगानीबाट पशुपालन सुरु गरेका ढुंगानाले हरेक वर्ष दूध बचेको आम्दानी पशुपालनकै क्षेत्रमा लगानी गरे।

ढुंगाना कृषि तथा पशुपालन फार्म दर्ता गरी वैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायबाट गाउँ–घरमै मनग्ये आम्दानी गर्न थालेका छन्। एउटा गाई र भैँसी र सामान्य संरचनाबाट पशुपालनमा प्रवेश गरेका ढुंगानाको फार्ममा अहिले २२ वटा दुहुना गाईभैँसी छन् भने १० वटा ब्याउनी गाईभैँसी छन्।

‘विदेशबाट फर्किएपछि केही समय फर्किने योजना बनाएको थिए, दुई वटा गाईभैँसीबाट आम्दानी हुन थालेपछि पासपोर्ट नै फालिदिए’ ढुंगानाले भने।

उनले कृषि र पशुपालनबाट दीर्घकालीन रुपमा मनग्य आम्दानी गर्न सकिने बताए। फार्म निर्माण र गाईभैँसी खरिदमा ५ लाख लगानी गरेकोमा अहिले करिब ७० करोडको संरचना सहित गाईभैँसी रहेको बताए। उनले ३ जनालाई रोजगारी समेत दिएका छन्। उनले दैनिक २ सय लिटरसम्म दूध उत्पादन हुने बताए। वार्षिक ६० देखि ७० लाखको दूध मात्रै बिक्री गर्ने गरेका ढुंगानाको २ वटा फार्ममध्ये एउटामा ब्याउनी गाईभैँसी र अर्कोमा दुहुना राखिएको छ। स्थानीय र मुर्रा जातका दुहुना भैँसी, जर्सी गाई, बाच्छाबाच्छी गरी जम्मा ३३ वटा छन्।

‘अहिले महँगीले सोचेजस्तो आम्दानी छैन, सबै खरिद गर्नुपर्ने भए पनि पेसामा पूर्णरुपमा सन्तुष्ट छु’ उनले भने।

सिधै गोठबाट डेरीमा पानीरहित दूध पुग्ने भएकाले ढुंगानालाई दूध बिक्रीमा कुनै समस्या छैन। उनले प्रतिलिटर १ सय २० रुपैयाँमा डेरीलाई दूध बिक्री गर्ने गरेका छन्। उनले विदेशमा गरेको लगानी आफ्नै ठाउँमा गर्ने वातावरण भए पनि महँगीले लगानी नै सङ्कटमा पर्ने अवस्था आएको बताए।

‘सरकारी अनुदान उपकरणमा नभई किसानको समस्या अनुसार दिनुपर्छ,‘अनुदानले पनि धेरै कृषक पेसामा टिक्न सक्छन्’ ढुंगानाले भने। 

उनले कृषकलाई अनुदान रकम नभई सहुलियतमा कर्जा सुविधालाई समेत तीनै तहका सरकारले प्राथमिकता दिएमा सहज हुने बताए। यता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले बेनी बजारमा नगरपालिकाभित्रबाट दैनिक २ हजार दूध खपत हुने गरेको बताए।

‘दूध उत्पादनमा नगरपालिका करिब आत्मनिर्भरको नजिक छ, ‘किसानमा आवश्यकताका आधारमा अनुदान कार्यक्रमलाई प्राथमिकता दिएका छौ’ प्रमुख आचार्यले भने। उनका अनुसार नगरपालिकाभित्रबाट बेनी बजारमा आवश्यकमध्ये करिब ८० प्रतिशत दूध खपत हुने गरेको बताए। 

दलीय पहुँच र सक्रियताबाट टाढा

व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषकले राजनीतिक दलबाट अलग भएर स्वतन्त्र बस्ने घोषणा गरेका छन्। दलीय गतिविधि र आस्थाबाट अलग भएर स्वतन्त्र रुपमा आफ्नो पेसामा सक्रिय रहने बताएका छन्। बेनी नगरपालिकामा पशुपालन तथा दुग्ध उत्पादनको क्षेत्रमा सक्रिय रहेका सुरेश ढुंगाना, कृष्णप्रसाद शर्मा, झलकबहादुर कटुवाल रमेश र दुर्गाप्रसाद पौडेलले दलीय गतिविधिबाट अलग भएर पशुपालन क्षेत्रमा कृषकको जीवनस्तर उकास्ने गरी काम गर्ने भन्दै विज्ञप्ति नै जारी गरेका छन्।

‘अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद, हामीले अव दलीय सङ्घसंस्थामा प्रतिनिधित्व गदैनौँ’ अगुवा कृषक ढुंगानाले भने। दलगत राजनीतिमा क्षमता भन्दा पहुँचवालाले अनुदान पाउने तथा अन्य विभेदका कारण समेत विगतमा किसानले असन्तुष्ट जनाउँदै आएका थिए। पशुपालन र दुग्ध क्षेत्रमा भोग्दै आएको समस्यालाई केन्द्रित भएर आगामी दिनमा विभिन्न रचनात्मक कार्य गर्ने समेत प्रतिबद्धता जनाएका छन्। स्वतन्त्र बस्ने चारै जना अगुवा कृषक हुन्। उनीहरूले पशुपालनबाट रहरलाग्दो आम्दानी गरिरहेका छन्।

प्रकाशित: १८ वैशाख २०८० ०८:२७ सोमबार

सुरेश ढुंगाना गाईभैँसीबाटै आम्दानी