समाज

भानुभक्तको शालिक शिलान्यास गरेको भन्दै मेयरको फोटो जलाईयो

जनकपुरधाम उपमहानगरपालिका-१स्थित भानुचोकमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माणका लागि गरेको शिलान्यास विरुद्धमा मधेस केन्द्रीत दलका युवाहरू आन्दोलित बनेका छन्।

आइतबार साँझ आन्दोलित युवाहरू चोकमा भानुभक्त आचार्यको शालिक निर्माणका लागि शिलान्यास गर्ने जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज साहको फोटो जलाएका हुन् । उनीहरुले मेयर साह विरुद्ध नाराबाजी समेत गरेका थिए।

सो चाेकमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको शालिक बनाउने र सहिद महतोको नाममा चाेकको नामाकरण गर्नुपर्ने आन्दोलित युवाहरूको माग छ।

मधेसवादी दलका युवा नेताहरूले गरिरहेको बिरुद्धको बाबजुद शनिवार कडा सुरक्षाबीच मेयर साह भानुभक्त आचार्यको शालिकको शिलान्यास गरेका थिए। शिलान्यास रोक्न युवाहरूले प्रयास समेत गरेका थिए। उनीहरु शिलान्यास गरेपनि निर्माण कार्य अगाडी बढाउन नदिने भन्दै आन्दोलन गरिरहेका छन्।

चाेकमा ६३ साल अघिसम्म भानुभक्त आचार्यको शालिक थियो। मधेस आन्दोलन चर्केका बेला आन्दोलनकारीले उक्त शालिक भत्काए र सहिद रमेश महतो चोक घोषणा गरे। तर अहिले उपमाहानगरपालिकाले पुनः भानुभक्त आचार्यको शालिक निर्माण गर्ने कार्य अगाडी बढाएपछि आन्दोलन चर्केको हो।

विद्यार्थीहरुले ०६३ सालमै उक्त चोकलाई सहिद रमेश महतो नामाकरण भैसकेको हुनाले त्यसलाई मेटाउन नहुने बताउँछन्। मधेश आन्दोलनको भावना विपरीत शालिक निर्माण गर्ने कार्य अगाडी बढे जस्तोसुकै कदम चालिने लोकतान्त्रिक यूवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले चेतावनी दिए।

नगरपालिकाले उक्त चोकमा भानुभक्त आचार्यको शालिक निर्माणका बीस लाख रुपैयाँ छुट्टयाइएको बुझिएको छ।

प्रकाशित: १८ वैशाख २०८० ००:४८ सोमबार

आदिकवि भानुभक्त आचार्य भानुभक्तको शालिक शिलान्यास सहिद रमेश महतो