समाज

भूकम्पमा आंशिक क्षति भएका घरलाई पनि अनुदान

काठमाडौं– भूकम्पबाट आंशिक क्षति भएका घर भत्काएर नयाँ बनाउन चाहे सरकारले पूर्ण क्षति भएका घर निर्माणसरह अनुदान दिने भएको छ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको संशोधित कार्यविधिमा भूकम्पबाट आंशिक क्षति भएका घर भत्काएर नयाँ बनाउन चाहे अनुदान दिने व्यवस्था गरिएको छ। यस्तो अनुदान पूण रुपमा क्षति भएका घरलाई सरह उपलब्ध गराइने छ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले आंशिक क्षति भएका घर भत्काएर नयाँ बनाउन चाहनेलाई पनि तीन लाख रुपैयाँ अनुदान दिने  व्यवस्था गरिएको जानकारी दिए। त्यसैगरी भूकम्पबाट क्षति पुगेका घर मर्मत गरेर बस्न चाहनेलाई एक लाख रुपैयाँ दिने व्यवस्था गरिएको छ। ‘भूकम्पबाट आंशिक क्षति पुगेका घर भत्काएर पुनः बनाउन चाहनेलाई तीन लाख रुपैयाँ दिइनेछ,’ उनले भने ‘क्षतिग्रस्त घर मर्मत मात्रै गरेर बस्न चाहनेले भने १ लाख रुपैयाँभन्दा बढी पाउँदैन ।’

 प्राधिकरणका अनुसार  यसरी भूकम्पबाट आंशिक रुपमा क्षति भएका घरको संख्या दुई लाख छ ।

प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा घर बनाउनका लागि डेढ लाख जनालाई डकर्मी तालिम दिने योजना अघि सारेको छ । प्राधिकरणका अनुसार भूकम्पपछिको पुननिर्माणमा कामदार अभाव देखिएपछि डकर्मी तालिम सञ्चालन गर्न लागिएको हो । त्यसका लागि नेपाली सेनाका दुई सय ३० जनालाई प्रशिक्षक तालिम पनि दिइसकिएको छ । उनीहरूले गाउँगाउँ पुगेर घर निर्माणसम्बन्धी तालिम दिनेछन् । यसका लागि विभिन्न सरकारी निकायसहित पुनर्निर्माणको काममा संलग्न गैरसरकारी संस्थासँग पनि सहकार्य गरिने पोखरेलले जानकारी दिए ।

प्रकाशित: २४ माघ २०७३ ०२:४१ सोमबार

भूकम्पमा आंशिक क्षति भएका घरलाई अनुदान