समाज

अमेरिका जान डराए विद्यार्थी

काठमाडौं- महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हासिल  गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ।

राष्ट्रपति ट्रम्पले आप्रवासीसम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिकी आकर्षण घटेको हो। आइतबार अमेरिकाको ‘नोअब्जेक्सन लेटर’ लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् ।

शिक्षा मन्त्रालयका उपसचिव डिल्लीश्वर प्रधानका अनुसार अंग्रेजी महिनाको सुरु अर्थात् जनवरी लागेदेखि अमेरिकाका लागि ‘नोअब्जेक्सन लेटर’ लिने विद्यार्थीको संख्या घट्दै गएको छ ।

उपसचिव प्रधानले उपलब्ध गराएको तथ्यांकअनुसार मंसिर १ देखि पुस १६ गतेसम्म ६ हजार तीन सय ६६ विद्यार्थीले नोअब्जेक्सन लेटर लिएका थिए । यसमा अस्ट्रेलिया जाने विद्यार्थी धेरै थिए भने दोस्रो स्थानमा अमेरिका थियो । राष्ट्रपति ट्रम्पको उदयसँगै अमेरिका जाने नेपाली विद्यार्थी ह्वात्तै घटेको उनले बताए ।

मंसिर १ देखि पुस १६ गतेसम्म ६ हजार तीन सय ६६ विद्यार्थीले नोअब्जेक्सन लेटर लिएका थिए । यसमा अस्ट्रेलिया जाने विद्यार्थी धेरै थिए भने दोस्रो स्थानमा अमेरिका थियो ।

त्यस अवधिमा नोअब्जेक्सन लेटर लिनेमध्ये अस्ट्रेलिया जाने तीन हजार तीन सय ८८ थिए भने अमेरिका जाने नौ सय ५९ विद्यार्थी रहेको उपसचिव प्रधानले जानकारी दिए । त्यस अवधिमा जापान जाने चार सय ७६, चीन जाने दुई सय ८८ र पोल्यान्ड जाने दुई सय ५४ विद्यार्थीले नोअब्जेक्सन लेटर लिएका थिए ।

‘ट्रम्पले पदभार सम्हाल्नु एक महिलाअघिसम्म नेपाली विद्यार्थीको उच्च शिक्षा हासिल गर्नेमा रोजाइमा अमेरिका दोस्रो स्थानमा थियो,’ उपसचिव प्रधानले नागरिकसँग भने, ‘तर पुस १७ अर्थात् जनवरी १ देखि अमेरिकाका लागि नोअब्जेक्सन लेटर लिन आउने विद्यार्थी हवात्तै घटे ।’ उनका अनुसार एक सातादेखि अमेरिका जाने विद्यार्थीको संख्या शून्यमा झरेको छ ।

मन्त्रालयका अनुसार पुस १ देखि १६ गतेसम्म कुल एक हजार नौ सय ३७ ले नोअब्जेक्सन लेटर लिएकोमा अमेरिका जाने दुई सय ४० थिए । त्यस अवधिमा एक हजार एक सय ९७ विद्यार्थीले अस्ट्रेलियाका लागि नोअब्जेक्सन लेटर लिएका थिए । यस्तै जापान जाने एक सय पाँच, पोल्यान्ड जाने ६४ र बंगलादेश जाने ५४ विद्यार्थीले नोअब्जेक्सन लेटर लिएका थिए । 

पुस १७ देखि २९ गतेसम्म अमेरिका जाने विद्यार्थीको संख्या ह्वात्तै घटेर चौथो स्थानमा पुगेको देखिन्छ । त्यस अवधिमा पनि नेपाली विद्यार्थीको पहिलो रोजाइमा अस्ट्रेलिया नै छ । एक हजार पाँच सय तीन विद्यार्थीले नोअब्जेक्सन लेटर लिएकामा ७३ विद्यार्थी मात्र अमेरिका जान चाहेका थिए ।

यसैगरी माघ २ देखि ६ गतेसम्म नौ सय १२ ले विदेशमा अध्ययनका लागि नोअब्जेक्सन लेटर लिएका थिए । तीमध्ये अस्ट्रेलिया जाने सात सय १६, चीन जाने दुई सय सय ४०, पोल्यान्ड जाने ३४, जापान जाने १६, बंगलादेश जाने १६, साइप्रस जाने १२ र अमेरिका जाने११ विद्यार्थीले नोअब्जेक्सन लेटर लिएका थिए।

माघ ७ देखि २३ गतेसम्म शिक्षा मन्त्रालयबाट एक हजार नौ सय २३ ले नोअब्जेक्सन लेटर लिएका छन्। यस अवधिमा पनि अस्ट्रेलिया जाने नै धेरै छन् । एक हजार तीन सय ८३ विद्यार्थीले अस्ट्रेलियाका लागि नोअब्जेक्सन लेटर लिएका छन् । पोल्यान्ड दोस्रो स्थानमा छ । त्यहाँ अध्ययन गर्न जान ८७ जनाले लेटर लिएका छन् । यसपछि जापान ७५, बंगलादेश ५४, साइप्रस ३९ र अमेरिका पढ्न जान ६ जनाले लेटर लिएका छन् । आइबार अमेरिकाका लागि नोअब्जेक्सन लेटर लिन कोही नआएको उपसचिव प्रधानले बताए ।

ट्रम्पले पदभार सम्हाल्नु एक महिलाअघिसम्म नेपाली विद्यार्थीको उच्च शिक्षा हासिल गर्नेमा रोजाइमा अमेरिका दोस्रो स्थानमा थियो

पुतलीसडकस्थित इडु कनसल्टेन्सीका देवीदास भट्टराईले अमेरिकी सरकारको अस्पष्ट भिसा नस्तिका कारण विद्यार्थी आकर्षण घटेको बताए । उनले दूतावासले उपलब्ध गराउने भिसा रिजेक्सन रेट हाइ भएकाले पनि विद्यार्थी अमेरिका जान डराएका हुन् ।

‘नेपाली विद्यार्थीलाई अमेरिकामा त्यत्ति गाह्रो छैन,’ भट्टराईले भने, ‘हाम्रै विद्यार्थीले पूर्ण छात्रवृत्ति पाए पनि रिजेक्ट भयो ।’ उनका अनुसार कहिले आर्थिक स्तर राम्रो हेर्ने, कहिले राम्रो छात्रावृत्ति हेर्ने त कहिले राम्रो विद्यार्थी अस्वीकार गर्ने तर कारण नदिने दूतावासको प्रवृत्तिका कारण नेपाली विद्यार्थीको अमेरिका आकर्षण घटेको हो ।

अस्ट्रेलिया सरकारले विद्यार्थीलाई उपलब्ध गराएको स्तरीय सुविधाका कारण नेपाली विद्यार्थीको पहिलो रोजाइमा परेको परामर्शदाताहरू बताउँछन्  । ‘सुरक्षित वातावरणमा अध्ययन पूरा हुने र गुणस्तरीय जीवन जिउने आधार तयार हुने भएकाले विद्यार्थी  अस्ट्रेलियातर्फ आकर्षित भएका हुन्’, डिल्लीबजारस्थित एइसिसिका बिजिनेस प्रमुख सचिन उपाध्यायले भने । विद्यार्थीलाई पढाइसँगै काम गर्ने वातावरण पनि राम्रो भएकाले अस्ट्रेलिया धेरैको रोजाइ बनेको उनी बताउँछन्।

प्रकाशित: २४ माघ २०७३ ०२:२२ सोमबार

अमेरिका जान डराए विद्यार्थी