समाज

भर्ना बन्द गरेको भन्दै नेविसंघद्वारा क्याम्पसमा तालाबन्दी

दाङ- पूर्वजानकारी बिनै बिद्यार्थी भर्ना बन्द गरिएको बिरोधमा नेपाल बिद्यार्थीसंघले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ। नेविसंघले आज क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा शाखा र परीक्षा शाखामा तालाबन्दी गरेको हो।

स्वतन्त्र बिद्यार्थी युनियनलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले जारी गरेको भर्ना बन्दसम्बन्धी सूचना क्याम्पस प्रशासनले सार्वजनिक नगरेको आरोप नेविसंघको छ। क्याम्पस प्रमुख बिमल सुवेदीले त्रिविबाट प्राप्त सूचना लुकाएर बिद्यार्थीहरुको पढ्न पाउने अधिकार तथा स्ववियुमा मतदान गर्ने अधिकार कुण्ठित गरेको नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाई सचिव कुलराज पोख्रेलले जानकारी दिए।

उनका अनुसार सूचना जारी नगरेरै भर्ना बन्द गरिँदा थुप्रै बिद्यार्थीहरु पठनपाठन र मताधिकारबाट वन्चित हुनुपरेको छ। त्रिभुवन विश्वविद्यालयले गत १३ गते क्याम्पसलाई जानकारी गराउँदै १४ गतेदेखि भर्ना नलिन निर्देशन जारी गरेको थियो। तर क्याम्पस प्रशासनले त्रिविको उक्त व्यहोरा आफू निकटस्थ विद्यार्थी संगठनलाई मात्रै गोप्यरुपमा जानकारी गराएको र अन्यलाई थाहै नदिएको आरोप नेविसंघले लगाएको छ।

क्याम्पस प्रमुखको चरम लापरबाहीका कारण बिद्यार्थीहरुको पढ्न पाउने अधिकार खोसिएको भन्दै नेविसंघले आन्तरिक भर्ना खोल्न मागसमेत गरेको छ। १२ पास गरेर उच्च शिक्षाका लागि क्याम्पस भर्ना हुन प्रवेश परीक्षा दिएर बसेका थुप्रै बिद्यार्थीहरुसमेत पढ्न पाउने अधिकारबाट वन्चित हुनु परेको पोख्रेलले बताए।

उनले क्याम्पसको लापरबाहीका कारण पठनपाठन तथा स्ववियु निर्वाचनमा मताधिकारबाट वन्चित विद्यार्थीहरुको पठनपाठन तथा मताधिकार सुनिश्चत नभएसम्म तालाबन्दी नखोलिने समेत बताए। राप्तीकै पुरानो क्याम्पसमा अहिले एक हजारमाथि विद्यार्थी छन् भने अहिले ७ सयको हाराहारीमा मात्रै विद्यार्थी भर्ना हुन पाएका छन्। 

प्रकाशित: २३ माघ २०७३ ०६:१० आइतबार

भर्ना गरेको भन्दै नेविसंघद्वारा क्याम्पसमा तालाबन्दी