समाज

सामाजिक सञ्जालमा रातो टीका अभियान

काठमाडौं- एकल महिला समूहले सञ्चालन गरेको रातो टीका अभियान हजारौं महिलाले ऐक्यबद्धता जनाएका छन्। उनीहरुले देखिने गरी रातो टीका लगाई सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका छन्।

एकल महिला समूहकी अध्यक्ष लिली थापाले गत सोमबार आफ्नो फेसबुकमा ह्यासट्याग 'रेड टिका च्यालेन्ज' (रातो टिका चुनौती) सुरु गरेकी थिइन्। यो अभियानमा ऐक्यबद्धता जनाउने जोसुकैले कम्तीमा तीन जनालाई यसको जानकारी दिई सहभागी बनाउन समेत उनले आग्रह गरेकी थिइन्। यो अभियानमा रातो टिका लगाएको तस्बिर राखी 'रेड टिका च्यालेन्ज' ह्यासट्याग राख्नु पर्ने प्रावधान छ।

तीन महिनाभित्रमा पाँच सय जनालाई सहभागी गराउने लक्ष्य रहेकोमा अभियानमा दुई दिनमै एक हजार जना सहभागी भएको थापाले बताइन्। 'अभियानमा पुरुषले पनि ऐक्यबद्धता जनाएका छन्', उनले भनिन्। थापाका अनुसार ऐक्यबद्धता जनाउने युवा पुरुषले विधवा महिलालाई प्रतिबन्धित रातो रङ प्रयोग गर्न घरबाटै प्रोत्साहित गर्ने भएका छन्।

थापाले ह्यासट्याग अभियानमा रीता राना, वन्दना राना र मोहिनी गिरीलाई मनोनयन गरेकी थिइन्। हालसम्म महिला सभासद्, सञ्चारकर्मी महिला, अन्तर्राष्ट्रिय महिला हस्तीलगायतले अभियानमा ऐक्यबद्धता जनाएको थापाले बताइन्।

थापाले यो अभियानमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ऐक्यबद्धता जनाउन आग्रह गरेकी छन्। 'राष्ट्रपतिलाई हाम्रो खबर पुर्‍याउन ढिला भइरहेको छ', उनले नागरिकसँग भनिन्।

थापाले सबैको जीवनमा रङको सम्बन्ध हुने र सबै रङ सबैले प्रयोग गर्न पाउनुपर्ने अधिकार भएको बताइन्। नेपाली समाजमा भने विधवा महिलालाई रङ प्रयोगमा लगाइएको प्रतिबन्धमा उनले आपत्ति जनाएकी छिन्।

सामाजिक सञ्जालमार्फत यो अभियान चलाउँदा सिंगो समाजमा सन्देश पुर्‍याउने उद्देश्य रहेको उनले बताइन्। ग्रामीण महिलाका बीच यो अभियान भिन्न रुपमा चलाउने उनको योजना छ।

एकल महिला समूहले विधवा महिलामाथि भएका विभेदविरुद्ध विभिन्न किसिमका अभियान तथा आन्दोलन चलाउँदै आएको छ। समूहले विधवा महिलालाई रातो सारी अभियान चलाइसकेको छ। अभियानमा सामाजिक संस्थाका अभियन्ता महिला तथा महिला सञ्चारकर्मीले समेत ऐक्यबद्धता जनाएका छन्।

 

प्रकाशित: २२ माघ २०७३ ०४:०८ शनिबार

सामाजिक सञ्जालमा टीका अभियान