समाज

क्यान्सर जितेकी वन्दना

चितवन- क्यान्सर लाग्नु भनेको जीवनको तत्काल अन्त्य हो भनेर बुझ्ने धेरै नै छन्। तर, यो सोचाइ गलत हो। समयमा उपचार भए क्यान्सर पूर्ण निको हुन्छ। क्यान्सरको उपचार दुर्लभ पनि छैन र महँगो पनि खासै छैन। भरतपुरकी ४५ वर्षीया वन्दना खाँड यसकी उदाहरण हुन्। उनी स्वदेशकै सुलभ उपचारले पूर्ण निको भएर सक्रिय जीवन जिउँदै आएकी छन्।

खाँडलाई २०७२ भदौमा स्तनक्यान्सर भएको पत्ता लाग्यो। भरतपुरकै बीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा उनको परीक्षणमात्रै भएन, उपचार पनि सुरु भयो। असोजमा शल्यक्रिया भयो। कात्तिकबाट केमोथेरापी सुरु भयो। गत वर्षकै फागुनमा उपचार पूरा भयो। केमोथेरापी गर्दा झरेका केश फेरि उम्रेका छन्। ती छोटा छन्। योबाहेक क्यान्सर भएको भनेर सम्झनुपर्ने लक्षण छैन।

उचित आहार र स्वस्था तथा सक्रिय जीवन शैली अपनाउने हो ४० प्रतिशत क्यान्सर नियन्त्रण हुन्छ भने बेलैमा उपचार पाए ३३ प्रतिशत बिरामी निको हुन्छन्।

त्यसो त उनी मानसिक रुपमा पनि क्यान्सर मुक्त भइसकेकी छन्। 'केमोथेरापी गर्दा कहिलेकाहीं ज्वरो आउँथ्यो। पखाला चल्थ्यो। यस्तो त अरु बेला पनि हुन्छ भनेर सामान्य रुपमा नै लिएँ। कपाल झर्‍यो। मुडुलो टाउको सलले ढाकेर भए पनि कार्यक्रममा गएँ। घरमै बसिनँ', खाँडले भनिन्। युएनडिपी, केयर नेपालजस्ता वैदेशिक दातृ निकायमा काम गरेको अनुभव बटुलेकी खाँडले अहिले आफैंले सामाजिक संस्था खोलेकी छन्।

परिचय नामक संस्था खोलेर उनी क्यान्सरविरोधी अभियानमा लागेकी छन्। 'पुगनपुग डेढ लाख रुपैयाँमा मेरो उपचार पूरा भएको हो', शुक्रबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आयोजित कार्यक्रममा खाँडले भनिन्। क्यान्सर सुरुमै पत्ता लागेका कारण कम खर्चमा पूर्ण उपचार सम्भव भएको हो। नेपालमा क्यान्सर लागेपछि सुरुमै उपचार गराउन आउने कम छन्। यो अवस्था अब नरहोस् भनेर चेतना फैलाउने अभियानमा आफू लागेको खाँडले बताइन्।

नेपालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हुने महिला अत्यधिक छन्। भरतपुर क्यान्सर अस्पतालमा वर्षमा सात हजार पाँच सय क्यान्सर रोगीको उपचार हुने अस्पतालका कार्यकारी निर्देशक डा. सीबी पुनले जानकारी दिए। तीमध्ये महिला ५५ प्रतिशत छन्।

सो अस्पतालमा उपचार गराउन आउने बिरामीका आधारमा दोस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर र तेस्रो नम्बरमा स्तन क्यान्सर रहेको अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान एकाइका प्रमुख भोला सिवाकोटीले जानकारी दिए। पाठेघरको मुखको क्यासर महिलालाई मात्रै हुन्छ भने स्तन क्यान्सरका बिरामीमध्ये ९८ प्रतिशत महिला हुन्छन्।

'महिला धेरै पीडित भएको अवस्था देखेर झनै काम गर्ने अठोट जागेको हो', खाँडले भनिन्। भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. पुनका अनुसार उचित आहार र स्वस्थ्ा तथा सक्रिय जीवन शैली अपनाउने हो ४० प्रतिशतले क्यान्सर नियन्त्रण हुन्छ।

त्यस्तै बेलैमा उपचार पाएमा ३३ प्रतिशत बिरामी निको हुन्छन्। बाँकीलाई पनि प्रभावकारी उपचार गरेर जीवन लम्ब्याउन सकिने सम्भावना रहेको पुनले बताए। 'वन्दना खाँडजस्ता व्यक्तित्वको सक्रियताले क्यान्सर रोकथाममा सहयोग पुर्‍याउँछ। क्यान्सर भएकालाई पनि चाँडै उपचारमा आएर निको हुन भूमिका खेल्छ। उपचार गरेर पूर्ण निको नहुनेहरु पनि असपताल आए बढी बाँच्ने अवस्था बन्छ', पुनले भने।

भरतपुर क्यान्सर अस्पतालको बहीरंग सेवामा वर्षमा एक लाख १९ हजार व्यक्ति परीक्षण गराउन आएको र तीमध्ये ७ हजार ५ सयजनालाई क्यान्सर भएको पत्ता लागेको पुनले बताए।

क्यान्सर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संगठन (युआईसीसी) ले सन् २००८ देखि फेब्रुअरी ४ लाई विश्व क्यान्सर दिवसको रुपमा मनाउन लागेको हो। क्यान्सर नियन्त्रणमा प्रभावकारी कदम नचाले मृत्यु भयावह हुने चिकित्सक बताउँछन्।

प्रकाशित: २२ माघ २०७३ ०४:०२ शनिबार

क्यान्सर जितेकी वन्दना