समाज

सिके राउतलाई १० दिन थुन्न अदालतको आदेश

सिके राउत

लहान— राष्ट्र विखण्डनका लागि संगिठत अभियान चलाउँदै आएका चन्द्रकान्त (सिके) राउतलाई जिल्ला अदालत सिरहाले थुनामा राख्न दश दिनको म्याद दिएको छ। राउतमाथि इलाका प्रहरी कार्यालय लहानमा दर्ता गरेको राज्यविरुद्धको संगठित अपराधको अभियोगमा अनुसन्धान सुरु भएको छ।

‘राज्यविरुद्धको संगठित अपराध अनुसन्धानका लागि अदालतले दश दिनको म्याद थपेको छ’, इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले भने,‘यो समयभित्र अभियोगको अनुसन्धान तथा प्रमाण जुटाउँने कार्य अगाडी बढ्छ।’

‘राज्यविरुद्धको संगठित अपराध अनुसन्धानका लागि अदालतले दश दिनको म्याद थपेको छ’, इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले भने,‘यो समयभित्र अभियोगको अनुसन्धान तथा प्रमाण जुटाउने कार्य अगाडी बढ्छ।’

राउतलाई लहान प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिने उनले बताए।

म्याद थपका लागि राउतलाई सिरहा लान ट्रक र चारवटा सुरक्षा भ्यान प्रयोग गरिएको थियो। समर्थकबाट अवरोध हुन सक्ने आँकलन गर्दै प्रहरीले सुरक्षा घेरा बनाएको एक सुरक्षा अधिकारीले बताए। राउतलाई राखिएको जिपमा लहान प्रहरी प्रमुख(डिएसपि) राजकुमार केसी सवार थिए। 

‘संगठन र मोर्चा बनाएर कानुनविपरित कार्य गरेकाले उक्त अभियोगमा कारबाही सुरु भएको हो,’ केसीले भने, ‘अब उनीविरुद्ध अन्य प्रमाण पनि जुटाउँछौं ।’

लहानमा माघ ५ गते संगठितरुपमा कानुनविपरित देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै लहान प्रहरीले राउतविरुद्ध राज्यविरुद्ध संगठित अपराधमा कारवाही प्रक्रिया सुरु गरेको हो।

यो मुद्धामा कारबाही अघि बढेपछि राउतमाथि लहानमा माघ ५ गते दिएको अभिव्यक्तिलाई आधार बनाएर राज्य बिप्लवको अभियोगमा समेत अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

मुलुक टुक्र्याउने हर्कत गरेको आरोपमा ०७१ भदौको दोस्रो साता पक्राउ परेका राउतलाई राज्य विप्लवको मुद्दामा कारबाही चलाइएको थियो। उक्त मुद्दामा राउत सफाइ पाएका थिए।

घटनास्थल फरक भएको उही मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ। राउतलाई बिहीबार दिउँसो जनकपुर–४ स्थित डेराबाट धुनषा प्रहरीले पक्राउ गरी लहान प्रहरीको जिम्मा लगाएको थियो।

यसअघि पनि उनी प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएका छन्।

प्रकाशित: २१ माघ २०७३ ०८:३८ शुक्रबार

सिके राउतलाई १० थुन्न अदालतको आदेश