डोटी- वन फँडानीको समाचार प्रकाशित भएपछि जिल्ला वन कार्यालय डोटीले रेन्जर सुरेश रोकायाको नेतृत्वमा स्थलगत निरिक्षण टोली परिचालन गर्यो। टोलीले माघ १४ गते जिल्ला बन कार्यालयमा 'प्रारम्भीक प्रतिबेदन' बुझाएको जनाएको छ।
सो प्रतिबेदनमा इलाका वन कार्यालय जोरायलका वन रक्षक नरबहादुर साहु र इन्चार्ज सहायक वन अधिकृत सच्चिदानन्द सिंहले 'समूहमा भैरहेको अनियमित कार्यबारे जानकारी नलिइ वा नदिइ गैरजिम्मेबार कार्य गरेको' उल्लेख गरिएको जिल्ला वन कार्यालयद्वारा जारी 'विवरणपत्र'मा उल्लेख छ। सो कसुरका आधारमा जिल्ला वन कार्यालयले दुबैजनालाई 'तत्कालका लागि निलम्बित' गरिसकेको छ।
सोही प्रतिबेदनमा सेक्टर वन कार्यालय बुडरका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई पनि दोषी देखाइएको छ। सो प्रतिवेदनलाई उद्वरण गरेर जारी गरिएको विवरणपत्रमा 'आफ्नो क्षेत्रमा पर्ने वनजंगत तथा त्यहाँ भएका वन सदुपयोग कार्यको अनुगमन नगरी लापरबाही गरेको' दोष देखाइएको छ। तर, उनलाई भने जिल्ला वन कार्यालयले कारबाही गर्नुअघि नै क्षेत्रीय वन कार्यालय धनगढीले कार्यालयमा हाजिर हुन बोलाएको छ। स्रोतका अनुसार उनलाई उम्काउन क्षेत्रीय वनले धनगढी तानेको हो। 'डिसीको दोष कर्मचारीहरुमा सबैभन्दा बढी छ,' जिल्ला वन स्रोतले भन्छ, 'तर, अन्य कर्मचारीहरुलाई वनले निलम्बन गर्यो। उनलाई निलम्बनबाट जोगाउन क्षेत्रीय वनले अगाडि नै धनगढी तान्यो।'
स्रोतका अनुसार समाचार प्रकाशित हुनासाथ सहायक वन अधिकृत डिसी 'गुहार माग्न' क्षेत्रीय वन कार्यालय धनगढी पुगेका थिए। त्यसपछि जिल्ला वनको कारबाहीबाट जोगाउन उनलाई क्षेत्रीय वन धनगढीले तानेको स्रोत बताउँछ।
नागरिकको स्थलगत रिपोर्टिङका क्रममा पनि डिसीका थुप्रै दोषहरु देखिएका थिए। आफ्ना दोषहरु छुपाउन उनले पत्रकार टोलीलाई 'प्रलोभन' मा पार्नसमेत खोजेका थिए। सोही सन्दर्भको 'वन फँडानीमा कमिशनको चलखेल' शीर्षकको समाचार नागरिक दैनिकले प्रकाशित गरेको थियो। 'अवैध फँडानीका उनी मुख्य खेलाडीसमेत हुन्,' स्रोतले भन्छ, 'केही सिप नलागेपछि उनी धनगढी पुगे। सोही आधारमा उनलाई जोगाउन क्षेत्रले धनगढी तान्ने उपाय अपनायो।'
जिल्ला वन कार्यालय डोटीका जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले यो कुरा अस्वीकार गरे। 'क्षेत्रले कारबाही गर्नकै लागि धनगढी तानेको हो। उनलाई कारबाही गर्न मिल्ने भरपुर प्रमाण हामीसँग थिएन,' उनले भने, 'नागरिक दैनिकमा प्रकाशित भएको समाचारका कारण क्षेत्रको ध्यानाकर्षण भएछ। त्यसैका आधारमा तानेको हो।'
'तपाईँले कारबाही गर्नुअघि नै क्षेत्रले किन तान्यो?' भन्ने नागरिकको प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन्। 'हामीले डिसीसँग पनि स्पष्टीकरण सोधेका छौं,' उनले यत्ति जवाफ फर्काए।
उता क्षेत्रीय वन निर्देशक सुधिर कोइरालाले 'जोगाउन तानेको' भन्ने आरोप निराधार रहेको बताए। 'डिसीले असोभनीय किसिमको अभिब्यक्ति दिएको समाचार आएपछि हाम्रो, विभागको र मन्त्रालयको ध्यानाकर्षण भयो,' उनले भने, 'त्यसैले उनलाई तत्काल स्पष्टीकरण सोध्न बोलाएका हौं।' यसबाहेक स्थलगतरुपमा अनुसन्धान कार्य जारी रहेको उनले बताए। 'अनुसन्धानको विवरण आएपछि दोषी देखिएका सबैलाई कारबाही हुन्छ,' उनले भने।
घटनाको बिस्तृत अध्ययनका लागि जिल्ला वन अधिकृत कार्कीसहित क्षेत्रीय वन कार्यालय धनगढीका अधिकृतसहितको टोली फडानी क्षेत्रमा खटिएको छ।
प्रकाशित: २१ माघ २०७३ ०७:२३ शुक्रबार