समाज

अस्पतालमा पानी अभाव

पाल्पा- जिल्ला अस्पताल पाल्पामा खानेपानीको समस्या भएको छ। खानेपानीको अभाव हुँदा अस्पतालका बहिरङ्ग सेवाग्राही र भर्ना भएका बिरामीसमेत बोतलको पानी किनेर खान बाध्य भएका छन्। अस्पतालमा डाक्टर भाष्कर हुमागाईंले अस्पतालमा पानीको अभावमा ल्याa सञ्चालन र बिरामी भर्नामा समस्या परेको बताए।

'धाराबाट पानी झर्दैन। क्वाटरमा व्यक्तिगत रकम तिरेर ट्याङ्करबाट पानी खरिद गरेर स्वास्थ्यकर्मीहरु बसिरहेका छन्। खानेपानी उपभोक्ता समितिलाई अनुरोध गर्दा वास्तै गर्दैन,' उनले भने। अस्पतालको नियमित धारा काटेर खानेपानी संस्थाले अन्यत्रबाट जोडेपछि पानी आउन छाडेको हुमागाईंले बताए।

तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले भने, 'अस्पतालमा तीन वटा धारा छन्, क्वाटर र गेष्टहाउसमा जोड्ने तर अस्पतालमा नजोड्ने गरेका कारण यो समस्या आएको हो। क्वाटर र गेस्ट हाउसमा बढी भएको पानी संकलन गरेर राख्ने हो भने पानीको अभाव हुँदैन।'

 उनले बिरामीको उपचार हुने अस्पतालको मुख्य भवनमा पानी नचढ्ने समस्यालाई सही रुपमा व्यवस्थापन नभएका कारण समस्या समाधान गर्न नसकिएको बताए। अस्पताल विकास समितिका अध्यक्ष डा. पुरन बज्राचार्य भने तानसेन खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष पनि हुन्। उनले समस्या समाधानका लागि प्रयास भैरहेको तर खानेपानी तानसेनको मुख्य समस्या भएको बताए।

प्रकाशित: २१ माघ २०७३ ०६:२४ शुक्रबार

अस्पतालमा पानी अभाव