समाज

लागू औषध सहित भारतीय नागरिक पक्राउ

लागू औषध खैरो हिरोइन सहित पक्राउ परेका त्रिपाठी।

इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराले जितपुरसिमारा उपमहानगरपालिका.२१ अमलेखगंज स्थित त्रिभुवन राजमार्गबाट चेकजाँचको क्रममा बिहीबार लागू औषध खैरो हिरोइन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपुर खजुरी ग्राम पञ्चायतका सन्तोष कुमार त्रिपाठी रहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

वीरगन्जबाट लागू औषध लिएर आउँदै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंका इन्चार्ज रोशन अधिकारीको कमाण्डमा खटाइएको प्रहरी टोलीले वीरगन्जबाट हेटौडा तर्फ जाँदै गरेको ना १ ज २०८६ नम्बरको टाटा सुमो सवार रहेको त्रिपाठीबाट २ सय ग्राम खैरो हिरोइन बरामद गरेको बोगटीले बताए।

नियन्त्रणमा लिएको खैरो हिरोइनको बजार मूल्य ५० लाखको हाराहारीमा रहेको उनले भनाइ छ।

सुमोलाई रोकी त्यसमा सवार रहेका यात्रुलाई चेकजाँच गर्ने क्रममा त्रिपाठीले दुवै खुट्टामा २/२  पोका गरी ४ पोका बनाएर लागू औषध खैरो हिरोइनलाई लास्टिकले बाँधी लुकाई छिपाई राखेको अवस्थामा फेला परेको उपरीक्षक बोगटीले बताए।

खैरो हिरोइन सहित पक्राउ परेका त्रिपाठी, सुमो र चालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको उनले सुनाए।

प्रकाशित: १४ वैशाख २०८० १४:२६ बिहीबार