समाज

डोटी वन फँडानी प्रकरणः दुई वन कर्मचारी निलम्बनमा

निलम्वित कर्मचारीहरु। तस्बिरः अरूण बम

डोटी– जोरायल वन फँडानीमा मिलेमतो रहेको आशंकामा जिल्ला वन कार्यालय डोटीले ईलाका वन कार्यालय जोरायलमा कार्यरत दुई कर्मचारीहरुलाई तत्कालका लागि निलम्बन गरेको छ। निलम्बन हुनेमा ईलाका वन कार्यालयका ईन्चार्ज सहायक वन अधिकृत सच्चिदानन्द सिंह र वन रक्षक नरबहादुर साहु रहेका छन् ।

उनीहरु दुबैलाई जिल्ला झिकाई स्पष्टीकरण सोधेर तत्कालका लागि निलम्वन गरिएको जिल्ला वन अधिकृत वद्रीकुमार कार्कीले जानकारी दिए। जसमध्ये वन रक्षक साहुको निलम्बन जिल्लाले नै स्वीकृत गरिसकेको उनले बताए। सहायक वन अधिकृत सिंहको स्वीकृतीका लागि विभाग पठाइएको छ। अनुसन्धान प्रक्रिया सहज होस् भनेर उनीहरु दुबैलाई निलम्बन गरिएको जिल्ला वन अधिकृत कार्कीले बताए।

यसबाहेक सेक्टर वन कार्यालय वुडरका ईन्चार्ज सहायक वन अधिकृत सुरेशचन्द्र डीसीलाई क्षेत्रीय वन निर्देशनालय धनगढीले निर्देशनालयमा तानेको छ। निर्देशनालयको पत्रअनुसार उनलाई पनि धनगढी पठाइएको जिल्ला वन कार्यालयले जनाएको छ।

मिलोमतोमा वन फँडानीको बिषयमा नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि प्रारम्भीर स्थलगत निरीक्षणमा गएको टोलीको प्रतिवेदनका आधारमा जिल्ला वन कार्यालयले यो कदम चालेको जिल्ला वन अधिकृत कार्कीले बताए।

जिल्ला वन कार्यालयले जारी गरेको विवरणमा सामुदायिक वन क्षेत्रमा वन कर्मचारीको मौखिक सहमतीका भरमा काठ कटानी भएको पाइएको उल्लेख गरिएको छ। गत आर्थिक वर्ष सहमती प्राप्त भएको तर तत्काल सबै काठ नकाटिएको पाइएको पनि सो विवरणपत्रमा उल्लेख छ। वाँकी काठ अहिले कटान गरिएको पाइएको भनी उल्लेख छ।

फँडानी क्षेत्रको विस्तृत अध्ययनका लागि जिल्ला वन अधिकृत कार्कीको नेतृत्वमा जिल्ला वन कार्यालय डोटी र क्षेत्रीय वन निर्देशनालय धनगढीका अधिकृतहरुसहितको ठूलो टोली बुधबार प्रस्थान गरेको छ।

 

प्रकाशित: १९ माघ २०७३ ०८:१२ बुधबार

डोटी वन फँडानी प्रकरणः दुई वन कर्मचारी निलम्बनमा