समाज

गाउँमा पाइनै छाडे स्थानीय जातका कुखुरा

पछिल्लो समय जुम्लामा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ। क्रस, ब्रोइलर र गिरिराज जातका कुखुरा गाउँ–गाउँमा पाइन्छ।

तर, स्थानीय जातका कुखुरा भने विरलै मात्रामा पाइन्छ स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने तर उन्नत र ब्रोइलर कुखुराबाट छिटो आम्दानी हुने भएकाले पनि स्थानीय जातका कुखुरामा कमी आउन थालेको हो। 

जिल्लाको शहरमा मात्रै होइन, दुर्गम क्षेत्रका गाउँबस्तीमा समेत ब्रोइलर, कोइलर र गिरिराज जातको कुखुराको चल्ला ल्याएर पाल्न थालेपछि स्थानीय जातका कुखुरामा कमी हुँदै आएको छ। स्थानीय जातका कुखुरा महँगो पर्नाका साथै हुर्कनका लागि समय लाग्ने भएकाले लेयर्स, ब्रोइलर, कोइलर, गिरिराज जातका कुखुरापालनप्रति किसानको आकर्षण बढेको चन्दननाथ -३ की रमा उपाध्यायले बताइन्।

छिटो हुर्कने र सस्तो हुने भएकाले नयाँ जातका कुखुराको माग बढ्न थालेकाले स्थानीय जातको कुखुरामा कमी आएको उनले बताइन्।कृषकहरूले घर–घरमा खानकै लागि पनि आधुनिक जातका कुखुरापालन गरिरहेको सोही वडाका जगन्नाथ उपाध्यायले बताए।

उनले नयाँ जातका कुखुराहरू छिटो हुर्कने र मनग्य आम्दानी गर्न सकिने भएपछि अधिकांशले आफू खान र केही खर्च जुटाउन पनि उन्नत जातका कुखुरा मात्रै पाल्ने गरेको बताइन्। स्थानीय जातका विशेषगरी साकिनी, घाँटी खुइले र उल्टे प्वाँख जातका कुखुराभन्दा ब्रोइलर कुखुरा दुई महिनाभित्र बजारमा लिएर आउने र बिक्री भएर आम्दानी हातमा पर्ने भएकाले स्थानीय जात हराउन थालेको स्थानीयहरूले बताएका छन्।

स्थानीय जातको कुखुराको माग अत्यधिक हुने भए पनि उत्पादन हुन धेरै समय लाग्ने भएकाले स्थानीय जातका कुखुरापालनमा कृषकको आकर्षण कमी आएको स्थानीय बताउँछन्। पछिल्लो समय सस्तो मूल्यमा ब्रोइलर, कोइलर, गिरिराज कुखुरा आउन थालेपछि किसानहरू उन्नत जातका कुखुराप्रति आकर्षित भएका छन्।

फाट्टफुट्ट रैथाने कुखुरा ९भाले० पाए पनि ३ हजार भन्दा बढी मुल्य पर्छ। माउ (पोथी) २ हजार देखि २ हजार ५ सय सम्म पर्छन्। स्थानीय जातका कुखुरापालनमा आकर्षित हुने कृषकको संख्या कमी भएको छ।  

प्रकाशित: १४ वैशाख २०८० ०७:४४ बिहीबार

कुखुरा