समाज

सम्पदा क्षेत्रका स्वप्नद्रष्टा

ललितपुर-पाटन क्षेत्रका ऐतिहासिक सम्पदा जोगाउन र तिनलाई जीवित राख्न जुटिरहेका छन्, बुद्धिराज बज्राचार्य। यहाँका स्तुप, बिहार, चैत्य, मठमन्दिर, पाटीपौवा, ढुंगेधारा र पाटन दरबार क्षेत्रको संरक्षणमा उनी खटिएको देखिन्छ । पुराना ऐतिहासिक सम्पदाको मर्मतसम्भार, पुनर्निर्माण र संरक्षणका लागि उनी पहल मात्र गरेका छैनन्, त्यसको सुरुवात पनि आफैँबाट गरेका छन्।

स्थानीयले उनलाई सम्पदाका सारथी भनेर उपमा दिएका छन् । पाटन क्षेत्रमा रहेका धेरै सम्पदाको अस्तित्व जोगाउनमा बुद्धिराजको ठूलो योगदान रहेको बताउँछन््, पाटनका सुनिल महर्जन । ‘सके आफ्नै पैसा नसके अन्य निकायबाट रकम माग गरी बज्राचार्यले सम्पदा संरक्षण क्षेत्रमा ठूलै योगदान पु¥याएका छन्,’ सुनिलले भने ।

बाल्यकालमा हिरो बन्ने सपना थियो, बज्राचार्यको । हिरो बन्न भारतको एक फिल्म उद्योगले निमन्त्रणा पनि गरेको थियो उनलाई । घरायसी समस्याले जान नपाएको उनी बताउँछन् । आफ्नो सानैदेखिको रुचिको क्षेत्रमा लाग्न नपाएपछि बुद्धिराजको जीवनले नयाँ मोड लियो ।

उनी भन्छन्, ‘फिल्म क्षेत्रबाहेक कला र सम्पदा क्षेत्रमा लागेर काम गर्नु मेरो सानैदेखिको सोख थियो, तर ०६३ पछि मात्र मैले बाल्यकालदेखिको रुचि मेटाउन पाएँ, सरकारी कामबाट अवकाश पाएपछि निश्चिन्त भएर सम्पदा क्षेत्रमा काम गर्न पाएको छु ।’

कुशल कार्यसम्पादन गरेकाले सरकारी जागिरको सिलसिलामा पनि उनी विभिन्न निकायबाट सम्मान पनि भए । विभिन्न क्षेत्रबाट प्रदान गरिने सार्क पदक, रजत महोत्सव पदक, सेवा पदक, शुभराज्यभिषेक पदक, रोयल भिक्टोरिया पदक, दैविक प्रकोप लगायत पदक उनले पाएका छन् । नेपाल बौद्ध परिसद्, पाएका छन् भने कुशल कार्य सम्पादनबाटै झन्डै डेढ सय सम्मान पत्र पाएका छन् ।

०२० मा दरबार हाईस्कुलबाट एसएलसी गरेका बुद्धिराजले पाटन कलेजबाट आईए उत्तीर्ण गरे । ०४२–५८ सम्म उपमनपाका मेयर भएर काम गरेका बुद्धिराजले विगतदेखि नै ललितपुर क्षेत्रका सम्पदा संरक्षणलाई मूलधारमा राखेर काम गर्दै आएका छन् । 

उनले ०२७ देखि ०३२ सम्म वडाध्यक्षको रूपमा काम गरे । जनप्रतिनिधिको भूमिका निभाउँदै जाने क्रममा ०४२–५८ सम्म उनी ललितपुर उपमहानगरपालिकामा मेयरको रुपमा सेवा गरे।

०६१ को पञ्चायतकालमा बुद्धिराजले पर्यटनमन्त्री बन्ने अवसर पाए । ०६३ को राजनीति परिवर्तनपछि उनले बाँकी जीवन सम्पदा संरक्षणमा समर्पित गर्न थाले ।

सम्पदा संरक्षणका लागि टोलवासीका अगुवालाई कार्यसमितिका राखेर उनले ‘ललितपुर विकासको लागि समाज’ नामक संस्था स्थापना गरेका छन् । अहिले यसै संस्थामार्फत उनले विभिन्न अन्तर्राष्ट्रिय देशसँग सम्पदा निर्माणका लागि आवश्यक रकम माग गर्दै आइरहेका छन् ।

आफ्नो पहलमा नापीचन्द्र महाविहार, अक्षयेश्वर महाविहार, लोककृति महाविहारलगायत विहारको पुनर्निर्माणका साथै ललितपुर उपमहानगर क्षेत्रका अन्य विहारको पनि मर्मतसम्भार गर्दै आएको बज्राचार्य बताउँछन् ।

पाटनढोका, मच्छेन्द्रबहालको बगैँचा, पाटी र ढोका निर्माण, इन्द्रायणी पार्क निर्माण, नःबहालमा गमला निर्माण, भीमसेन मन्दिरमा पुजारी व्यस्थापन, भिन्छेवहालको दिगी घर पुनर्निर्माण, श्रीबहालको आजु निवास निर्माण, नागबहालको सामुदायिक भवन निर्माण, लुखुसी महादेव पाटी निर्माण, खोकनाको महायानी गुम्बा निर्माण, बुङमतीको गंगापोखरी निर्माण लगायत काम पनि उनैले गरेका हुन् ।

कार्यप्रतिको लगाव र आत्मविश्वासले गर्दा नगर क्षेत्रका विश्वासिला पात्र बन्न पुगे । विशेषतः उनले सरकारी जागिरको सिलसिलामा भारत सरकारका विभिन्न कार्यक्रम सहभागी भए । त्यहीँबाटै आफूलाई चिनाउँदै उनले ललितपुर क्षेत्रका विभिन्न ऐतिहासिक सम्पदा संरक्षणका लागि भारत सरकारको ध्यानाकर्षण मात्र गराएनन्, त्यसका लागि रकम पनि माग गरे । सरकारी सेवामा लागेपछि भारतीय राजदूतलाई भेट गरी सम्पदा क्षेत्र अवलोकन गराएर तीनको पुनर्निर्माणका लागि सहयोग पनि माग गरे। ०४२ सालदेखि नै आफ्नै पहलमा भारत सरकारबाट रमकको माग गरी सम्पदा क्षेत्रमा काम गर्दै आएको बुद्धिराज बताउँछन् । उमेरले ८० काटेका बुद्धिराज बाचुन्जेल आफ्नो सम्पूर्ण जीवन नै सम्पदा क्षेत्रमा समर्पित गर्ने बताउँछन् ।

त्यसो त उनलाई आफूले सम्पदा संरक्षणको क्षेत्रमा अहिलेसम्म गरेको कामले पुगेको छैन । स्थानीय र स्वास्थ्यले साथ दिए उनी सास रहुञ्जेल सम्पदा क्षेत्र र नगर क्षेत्रको विकासमै खट्ने अठोट व्यक्त गर्छन् ।

‘०३० सालभन्दा पहिले पाटनदरबार क्षेत्रका सम्पदा नाजुक थियो,’ उनले भने, ‘तीनलाई जोगाएर पुरानै अवस्थामा पु¥याउनु मेरो सोच थियो, स्थानीय साथ दिएका कारण आज त्यो सम्भव भएको छ ।’

उनले पाटन क्षेत्रका धेरै सम्पदा पुनर्निर्माण गरिसकेका छन्। सम्पदाकै संरक्षण गर्ने भनेर उनले ललितपुर विकासका लागि समाज भन्ने संस्था पनि उनले स्थापना गरिसकेका छन्। हाल उनी उक्त संस्थामार्फत् भारत सरकारसँग सम्पदा संरक्षणका लागि रकम माग गर्दै आएका छन्। नेपाल सरकारले छुट्याएको बजेटले मात्रै सम्पदाको पुनर्निर्माण र संरक्षण नहुने देखेपछि आफू सरकारी सेवामै रहँदाबाट भारत सरकारसँग सम्पदा निर्माणका लागि रकम माग गर्दै आएका थिए। टोलका अगुवासँग मिलेर सम्पदा क्षेत्रलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर बेलाबेला उनले छलफल पनि गर्दै आएका छन्।

प्रकाशित: १९ माघ २०७३ ०३:५३ बुधबार

सम्पदा क्षेत्रका स्वप्नद्रष्टा