समाज

खुवाउन नजान्दा कुपोषण

झापा-‘कुपोषण’लाई विपन्न परिवारका बच्चामा देखिने स्वास्थ्य समस्याका रूपमा लिने गरिन्छ । तर, यहाँ ‘खातापिता’ परिवारकै बालबालिकामा यो समस्या देखिएको छ। पोषणविद्का अनुसार सन्तुलन मिलाएर खानेकुरा खुवाउन नजान्दा कुपोषणले सताउँछ।

धुलाबारीका आमोद शिवाकोटी एक वित्तीय संस्थामा राम्रै पदका जागिरे हुन्। उनकी पत्नी स्कुल पढाउँछिन्। आफ्नै घर र खेतबारी पनि भएका उनीहरू संयुक्त परिवारमा बस्छन् ।  तर, उनीहरूको १७ महिने छोरालाई चिकित्सकले कुपोषणको समस्या देखाइदिए । मेची अञ्चल अस्पतालको पोषण पुनस्र्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई महिनादिन राखेर उपचार गरेपछि बच्चाको तौल र उचाइ स्वाभाविक बन्दै गएको छ ।

‘कुपोषण धेरैजसो निर्धन परिवारका बालबच्चामा देखिने समस्या हो,’ अञ्चल अस्पतालका चिकित्सक रबिन रेग्मीले भने, ‘तर, खानाको सन्तुलन मिलाउन नजान्दा सम्पन्न परिवारका बच्चामा पनि यो समस्या देखिन सक्छ । ’

शनिअर्जुन–४, लक्ष्मीपुरकी हिमा पाठकका छोरा १५ महिनाका भए । उनको तौल भने ७ केजी मात्रै छ। यो उमेरको तौल कम्तीमा ९ केजी हुनुपर्ने बालरोग विशेषज्ञको भनाइ छ । भद्रपुर–११ का पूजा हेमरमका १५ महिनाका छोरा मनीषको  तौल ८ केजी मात्रै छ । चिकित्सकले उनीहरू दुवैलाई कुपोषणको समस्या रहेको बताएका छन् । बनियानी—६ की निर्मला गौतमका एक वर्षीय छोरीको तौल बल्ल ६ केजी ८ सय ग्राम पुग्यो । १३ दिनअघि उनलाई बालरोग विशेषज्ञको सल्लाहमा मेची अञ्चल अस्पताल, भद्रपुरको पोषण पुनस्र्थापना गृहमा भर्ना गरिएको छ।

भर्ना हुनुअघि उनको तौल ६ केजी ६ सय ग्राम मात्र भएको आमा निर्मला बताउँछिन् । यो गृहमा आठ जना कुपोषण भएका बालबालिका  भर्ना गरिएको छ जसको केन्द्रमा उपचार र रेखदेख निःशुल्क हुन्छ। सँगै बच्चालाई खुवाउने तरिकाबारे पनि बताइन्छ ।

अधिकांश मध्यमवर्गीय परिवारका सन्तान गृहमा रहेको प्रबन्धक गंगा लिम्बू बताउँछिन्। उनी भन्छिन्, ‘निर्धन  समुदाय यहाँसम्म आइ पुग्दैनन् ।’ अधिकांश चिया कारखाना, इँटाभट्टामा कार्यरत मजदुरका सन्तान आफ्ना अभिभावकमा चेतना नहुँदा कुपोषित उपचारबाट वञ्चित भएको बताउँछिन् उनी।

 परिवारले खानपानमा ध्यान नदिँदा कुपोषण लाग्ने उनले जानकारी दिइन् ।   उनका अनुसार कुपोषण भएको थाहा भएर अभिभावकलाई भन्दा पनि धेरैले गृहसम्म ल्याउँदैनन् । घरमा सबैथोक भए पनि बनाएर खुवाउन नजान्दा समस्या आउने उनले बताइन्।

आमालाई पोषणयुक्त खानेकुरा कसरी बनाउने यो गृहमा सिकाइन्छ। कुनै संघ–संस्थाले पोषण शिविर चलाए आफूहरूले पूरा सहयोग गर्ने उनी बताउँछिन् । शिविरमा कुपोषित बालबालिकाका आमालाई खानपान सिकाउने र कुपोषण देखिएका बच्चालाई उपचारका लागि गृहमा ल्याउने गरिन्छ।

जन्मेदेखि ५ वर्षसम्मका कुपोषित बालबालिका र उनका आमालाई राखेर निःशुल्क पोषणयुक्त खानेकुरा पकाउन र खुवाउन सिकाएर स्वस्थ पार्ने गरिएको सुब्बा बताउँछिन् । विज्ञका अनुसार गरिबी र अति कम विकसित मुलुकका बालबालिकामा बढी कुपोषण देखिन्छ ।

धेरै अभिभावकलाई बच्चामा कुपोषण भए–नभएको थाहा हुँदैन । बालरोग विशेषज्ञ डा. कर्ण सापकोटाका अनुसार पोषिलो खानेकुरा अभावमा हुने कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवैमा देखिन्छ । उनी भन्छन्, ‘धेरै अभिभावकलाई थाहा छैन, कुपोषणबारे अनि बच्चाको शारीरिक विकास जसरी  हुनुपर्ने हो, त्यसरी हुँदैन ।’ अधिकांश अभिभावक बच्चाले खाना नखाने,  धेरै रुने, सुत्न,े झगडा मात्र गर्ने गुनासो गर्छन् । त्यसो हुनुमा पनि कुपोषणले असर गरेको हुनसक्ने उनको भनाइ छ ।

 निजी क्लिनिकमा उपचारका लागि ल्याउने झन्डै १० देखि १५ प्रतिशत बालबालिकामा कुपोषण देखिने उनले बताए । सापकोटाका अनुसार यी माथिका सबै कुपोषणका लक्षण हुन् । ‘बच्चाको कपाल खैरो भयो भने कुपोषण भयो भन्ने बझ्नुपर्छ,’ डा. सापकोटाले भने, ‘कुपोषण कुनै रोग होइन, यसबाट लाग्ने रोगका कारण बालबच्चाको मृत्यु हुन्छ ।’

प्रोटिनको कमीले ‘क्वासिवार्कर’ भन्ने रोग लाग्ने विशेषज्ञको भनाइ छ । उचित  पौष्टिक खानाको अभावमा बच्चामा कुपोषण देखिन्छ । ‘सुरुमा रुघा सुरु भयो,’ बनियानीकी  निर्मलाले भनिन्, ‘उपचारका लागि बनियानी स्वास्थ्य चौकी लगेपछि मात्र बच्चालाई कुपोषण भएको थाहा भयो । त्यसपछि यहाँ ल्याएर भर्ना गरेँ ।’

स्वास्थ्यकर्मीले कुपोषण भएको भनेपछि घरपरिवार छरछिमेकीमा उनले सुनाइन् ।  यसलाई धेरैले सामान्य रुपमा लिए । ढिलै भए पनि उनले छोरीलाई पोषण पुनस्र्थापना गृहमा भर्ना गरिन् । अहिले उनको तौल  वृद्घि भएको निर्मला बताउँछिन् । यसअघिका आफ्ना कुनै पनि सन्तानमा यस्तो नदेखिएको हिमा बताउँछिन् ।

कुपोषण हुँदा बालबच्चा सुकेर लठ्ठीजस्तै हुँदै जाने,  आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने,  धेरै समय निदाउने जस्ता लक्षण देखा पर्छन् । प्रायः रुने, पेट फुल्ने पनि हुन्छ ।  छोराछोरीको यस्तो अवस्था हुँदासम्म धेरैले उपचारका लागि लैजानुको सट्टा धामीझाँक्रीको भरपर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ  छ। ‘चेतना अभावमा धेरै अभिभावकले आफ्ना छोराछोरीको कुपोषण उपचार गराउँदैनन्,’ स्वास्थ्यकर्मी दिलीप सुवेदी भन्छन्, ‘त्यसैका कारण जसरी शारीरिक रूपमा बालबच्चाको विकास हुनुपर्ने हो, त्यो हुँदैन ।’

 

प्रकाशित: १९ माघ २०७३ ०३:२४ बुधबार

खुवाउन नजान्दा कुपोषण